राजनीति

जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

सप्तरी, १२ असार । जिल्ला समन्वय समिति सप्तरीको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन निर्वाचित भएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस, लोसपा, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट कांग्रेसका शिवनारायण साह प्रमुख पदमा निर्वाचित हुनु भएको छ । प्रमुखका लागि साहले २३ मत ल्याउनु भयो भने निकट्तम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका छेदी अरगरिया यादवले ११ मत प्राप्त गर्नु भयो ।
जिल्ला समन्वय समितिको निर्वाचनमा अर्कोतर्फ जसपा, नेकपा (एमाले) र नेकपा (माओवादी) को गठबन्धन बनेको थियो ।
यसैगरी उपप्रमुखमा लोसपा नेपालका शम्भुकुमार यादव २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवकान्त चौधरीले १४ मत मात्र प्राप्त गरे ।
महिला सदस्यमा जनमत पार्टीकी प्राणवतिदेबी सरदार २३, नेकपा (एकीकृत समाजवादी) की सबीताकुमारी साह २३ र कांग्रेसकी रन्जिताकुमारी चौधरी थारुले २२ मत ल्याएर निर्वाचित भए । उनीहरुका प्रतिस्पर्धी जसपाकी आशाकुमार तामाङले १४, आशादेबी झा र एमालेकी वैजनाथ देबी थरुनीले १२ मत ल्याए ।
अन्य सदस्यमा जनमत पार्टीका बदिलाल यादवले २४, कांग्रेसका जागेश्वर यादवले २३ र लोसपाका सत्यनारायण मण्डलले २० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गुल्टेन यादवले १४, एमालेका जौनिदिन मियाँ चुरौटेले १२, रबिन्द्रनाथ चौधरीले १० मत ल्याए । जसपाका अवधेश मुखियाले १ मत मात्र प्राप्त गरे ।
त्यस्तै दलित वा अल्पसङ्ख्यक सदस्यमा नेकपा (एस) का बौहरी भगतले २३ मत ल्याएर निर्वाचित भए । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका बलदेब बाँतरको १३ मत आएको छ ।
सप्तरी जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखमा २, उपप्रमुखमा २, महिला सदस्यमा २ र अन्य सदस्यमा ४ मत बदर भएको छ ।
१८ वटा स्थानीय तहको ३६ मत रहेको जिल्लामा कांग्रेसको १२, जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा (एस) र माओवादीको २÷२ मत रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page