१४असार, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
विराटनगर महानगरपालिकाको मंगलबार साँझ महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले बर्खे बिदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
यस्तै कतिपय विद्यालयहरूमा बाढी पीडितहरूका लागि अस्थायी बसोबास (सेल्टर) को प्रबन्ध गरिएको छ । महानगरले बाढी तथा डुबानबाट सुरक्षित हुनका लागि शतर्कता अपनाउन अपील गरेको छ ।
साथै आम नागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत तथा परम्परागत विद्यालयहरुलाई आवासका लागि व्यवस्थापन गर्ने महानगरस्तरीय निर्णय भएको हुँदा सो कार्यका लागि विद्यालयहरूले आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्न गराउन अनुरोध गरेको छ।
Add Comment