कञ्चनरुप (सप्तरी), २ साउन । आज श्रावण महिनाको पहिलो सोमबार कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
सप्तरीको धर्मेश्वर महादेव मन्दिर, शुम्भुनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर र हरिन्नदेश्वर मन्दिर लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।
भगवान शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरु शिवालयहरुमा बिहानैदेखि पूजाअर्चना, जर्लापण तथा बिहान ४ बजेदेखि फूलमाला , बेलपत्र, ,धतुरो, मिष्ठान्न तथा विभिन्न किसिमका फलफूल सहित रंगीचंगी भेषभूषामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरु मन्दिरमा भिड लाग्ने गर्दछन् ।
यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । विधिपूर्वक आरधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् ।
यस साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्दा विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महिनामा भगवान् शिवलाई खुसी पार्नुपर्छ भन्ने गरिन्छ ।
साउन महिनामा बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । साउनभर भोलेनाथलाई जल र बेलको पात चढाउँदा राम्रो हुने जनविश्वास रहिआएको छ ।
Add Comment