धर्म संस्कृति

२८ औं विश्व आदिवासी दिवस,आदिवासी जनजातिको उत्थानमा सहयोग गर्ने नगरप्रमुख गुप्ताको प्रतिबद्धता

बृजमान तामाङ

बिरेन्द्र बजार, २५ साउन । शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले आदिवासी जनजाति समुदायको उत्थान र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
२८ औं विश्व आदिवासी दिवसको अवसरमा इन्डिजिनियस पिपुल्स मुभमेन्ट फोर सेल्फ डिटरनेशन एण्ड लिवरेशनको सहयोग, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीकोको आयोजना तथा तराई आदिवासी तथा सिमान्कृत समुदाय विकास र अनुसन्धानको सह आयोजनामा कठौनामा मंगलबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।
सप्तरी जिल्लामा आदिवासी जनजातिको अवस्था र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले आदिवासी जनजातिको चौतर्फी विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लामा आदिवासी जनजातिहरुले संख्याको आधारमा सम्मानजनक अवसर अझै प्राप्त गर्नु सकेको छैन, नगरप्रमुख गुप्ताले भने, दुखकोसाथ भन्न्नुपर्छ आदिवासीको मत लिएर उनिहरुकै अधिकार खोस्ने प्रवृत्तिका व्यक्तिले अहिले यो अबस्थामा पुर्‍याउएको छ ।

अधिकार प्राप्तिका लागि कर्तव्य पनि निर्वाह गर्नुपर्नेमा जोड दिदै नगरप्रमुख गुप्ताले अधिकार लिनको लागि आफू भित्रको त्रुटि सच्याएर अगाडि बढनुपर्ने आबश्यकता औलाए । पुर्वाधार विकासका कार्यमात्र विकासको आधार नभएको जिकिर गर्दै नगरप्रमुख गुप्ताले मानविय चेतना विकासलाई पनि विकासको पाटो मानेर समग्र विकासको सोच नभएसम्म सामाजिक रुपान्तरण हुन नसके उल्लेख गरे । २८ औ विश्व आदिवासी दिवसको शुभकामना दिदै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रमुख गुप्ताले आदिवासी जनजाति समुदायको उत्थानका लागि भवन निर्माण लगायतका चेतना अभिबृद्वी गर्ने कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरपालिकामा स्वास्थ्य,शिक्षा र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरीले आगामी संघ र प्रदेशको निर्वाचनलाई आदिवासी जनजातिले उपयोग गर्नुपर्नेमा जोड दिए । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गर्छु, चौधरीले भने, पार्टीले टिकट दिनेमा विस्वस्त छु, उनले थपे, पार्टीले टिकट नदिएपनि उम्मेदवारी दिने मनसाय बनाएकोले आम जनताको सहयोगको अपेक्षा छ । उनले आगामी निर्वाचनमा पार्टी र जातिभन्दा माथी उठेर आदिवासी, जनजाति, दलित, महिला, मधेशि मुश्लिम लगायतका पछाडि परिएका समुदायको पक्षमा दिनरात खट्ने उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरे ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा निबर्तमान अध्यक्ष बृजमान तामाङ, नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङ तामाङ, जिल्ला अध्यक्ष सन्तमान गोले, नेवाःदेयः दवु सप्तरीका अध्यक्ष मित्र नारायण श्रेष्ठ, शम्भुनाथ नगरपालिका ५ का वडा सदस्य सुनिता कुमारी चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा सप्तरीमा आदिवासी जनजातिको अवस्था र अवको बाटो सम्बन्धि कार्यपत्र आदिवासी जनजाति युवा महासंघ नेपालका पुर्व महासचिव सुदर्शन चौधरी गरे । आदिवासी जनजाति महासंघ सप्तरीका सचिब अरविन्द कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष उपेश सिंह दनुवारले गरे भने धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष सर्मिला चौधरीले गरिन ।
यसै गरि २८ औं विश्व आदिवासी दिवसको अवसरमा डाक्नेश्वरी नगरपालिकामा समेत कार्यक्रम आयोजना गरिएको छ । आदिवासी जनाजाती महासंघ डाक्नेश्वरी नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगरपालिकाका अध्यक्ष अरविन्द कुमार चौधरी अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख रामलखन मलाह र विशिष्ट अतिथिमा उपप्रमुख मिरा कुमारी यादव रहेकी थिईन ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, डाकेश्वरी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, आदिवासी जनजातिका विभिन्न वडाका प्रतिनिधि लगायतका उपस्थिति रहेको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page