समाचार

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा सामाजिक सेवा लिने बिरामीमा बृद्धि

राजविराज, ३० साउन । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज अन्तर्गत सामाजिक सेवा इकाइ तथा जेष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ ।
इकाइमार्फत मासिक रूपमा साढे एक सय र दैनिक रूपमा ५ जना बिरामीहरूले सेवा लिएको सामाजिक सेवा इकाइका प्रमुख सुर्यकान्त झाले बताउनु भयो । उहाँका अनुसार गत वर्ष ८ सय ४५ पुरुष र ९ सय ७२ महिला गरी १ हजार ८ सय १७ जना विरामीले सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा ३१८ पुरुष र ३८३ महिला गरी ७ सय १ जनाले सामाजिक सेवा लिएका थिए । जसमा ४१४ मधेसी, १५४ दलित, ७६ जनजाति, ३० ब्राह्मण क्षेत्री र २७ मुस्लिमले सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७८÷२०७९ मा १ हजार ८८ जना गरिब, ५४३ जना जेष्ठ नागरिक, ९७ जना लैङ्गिक हिंसा पीडित, २८ जना असहाय, ११ जना अपाङ्गता भएका व्यक्ति, २ जना प्राकृतिक प्रकोपमा परेका व्यक्ति र अन्य ४८ जनाले सेवा लिएको सेवा इकाइको तथ्यांकले देखाएको छ । यो अघिल्लो वर्षभन्दा १ हजार ११६ बढी हो । जसमध्ये परिचयपत्र वा सिफारिश पत्रसहितका आउने बिरामीको सख्या न्यून रहेको छ ।
ग्रामिण भेगबाट असहाय, अशक्त, गरिब, दलित, जेष्ठ नागरिकहरू परिचय पत्र नलिई आउने गरेका कारण उनीहरूको उमेर, अवस्था हेरेर सेवा दिनु परेको उहाँले बताउनु भयो । सेवा लिएका १ हजार ८१७ मध्ये १ सय १५ जनाले मात्र परिचय पत्र वा सिफारिश लिएर आएको देखिएको छ ।
उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । तर टाढाबाट आउने असहाय, गरिब, जेष्ठ नागरिकलाई उपचार नगरी फर्काउन गाह्रो परेकाले पहिलो पटकका लागि सेवा दिने गरेको र दोस्रो पटक आउँदा परिचयपत्र लिएर आउन भन्ने गरेको इकाइका उपप्रमुख धनेश्वर यादवले बताउनु भयो ।
गत वर्षको साउनदेखि २०७९ असारसम्म सेवा लिनेमा ४३९ दलित, ३६१ जनजाति, ९१३ मधेसी, ५९ मुस्लिम, ४३ ब्राह्मण क्षेत्री र अन्य २ जना रहेका छन् । यस्तै आकस्मिक बिरामी ५७८ जना, बहिरंग बिरामी ७२२ जना र भर्ना भएर आएका विरामी ५१७ जना रहेको प्रमुख झाले बताउनु भयो । आर्थिक वर्षको साउन महिनामा सामाजिक सेवा लिने २ सय ५० जना पुगिसकेको छ ।
गत वर्ष औषधिमा १ लाख ४ हजार ८८५, परीक्षणमा १२ लाख ६० हजार १०८ तथा शैया र रगतमा २० हजार ६३९ रुपियाँ गरी १३ लाख ८५ हजार ६३२ रुपियाँ लक्षित बिरामीको स्वास्थ्य सेवावापत खर्च भएको छ । प्रत्येक बिरामीमा औसत ७ सय ६२ रुपियाँ खर्च भएको छ । आंशिक उपचार सहयोग पाउने ३८८ जना र पूर्ण उपचार सहयोग पाउने १ हजार ४२९ जना रहेका छन् ।
परीक्षणवापत खर्च भएको १२ लाख ६० हजार १०८ रुपियाँमध्ये प्रयोगशालामा १० लाख ३२ हजार रुपियाँ, युएसजीमा ६९ हजार १ सय रुपियाँ, सिटी स्क्यानमा ५३ हजार ७३५ रुपियाँ, एक्सरेमा १ लाख ५ हजार २७३ रुपियाँ रहेको छ । यस्तै शैया वापत १५ हजार ९९ रुपियाँ र रगत वापत ५ हजार ५४० रुपियाँ बिरामीले छुट पाएका छन् ।
लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आर्थिक वर्ष ०६९÷७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो इकाइ राख्ने निर्णय गरेकोमा राजविराजस्थित उक्त अस्पतालमा २०७५ चैत १२ गतेदेखि सेवा शुरु गरिएको हो ।
सेवा सञ्चालनका विषयमा जानकारी दिनु हुँदै गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद शाहले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट असहाय र असमर्थ बिरामीहरू उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले इकाइ स्थापना गरिएको बताउनु भयो । गरिबको पहिचान गर्न वा मापदण्ड किटान गर्न समस्या भएकोले कतिपय सम्पन्न व्यक्तिले पनि लाभ लिइरहेको हुन सक्ने उहाँले आशंका गर्नुभयो ।
लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालहरूमा सामाजिक सेवा इकाइ स्थापना गरिएको हो । यस्ता इकाइबाट विभिन्न १३ वटा लक्षित समूहले निःशुल्क र सहुलियत रूपमा उपचार पाउने व्यवस्था गरिएको छ ।
मधेस प्रदेशका ८ ओटै जिल्लामा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालन रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page