समाचार

मेची—महाकाली बुहारी संयुक्त आवाज सप्तरी गठन

राजविराज, ३० साउन । महिला अधिकार र सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको भेलाले आज मेची—महाकाली बुहारी संयुक्त आवाज सप्तरी गठन गरेको छ ।
वि.स.२०७७ भदौ १९ गते स्थापना भएको मेची महाकाली बुहारी संयुक्त आवाज देशको सबै जिल्लामा बिस्तार भइरहेको र ५३ औं जिल्लाका रुपमा आज सप्तरीमा समिति निर्माण भएको हो ।
राजविराजस्थित सप्तरी जिल्ला बार इकाइको सभाकक्षमा आयोजित अधिकारकर्मीहरुको भेलाले अनीता देवकोटाको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन गरेको छ ।
नवगठित समितिको सहसंयोजकमा अधिवक्ता दानो चौधरी, उपाध्यक्षमा अधिवक्ता साधना कर्ण, सचिवमा पुनम पोखरेल र कोषाध्यक्षमा रत्ना तामाङ मनोनयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा रमिला साह र मिरा गुरुङ तथा सल्लाहकारमा अधिकारकर्मी मनोहर पोखरेल र कानुनी सल्लाहकारमा अधिवक्ता मनु खनाल मनोनीत हुनु भएको छ ।
महिला सशक्तीकरणका लाागि सामाजिक अभियानकै रुपमा क्रियाशील मेची महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशकी सह–संयोजक रमा काफ्लेले नवगठित कार्यसमितिलाई विद्यान हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि राजविराज नगरपालिकाकी कायम मुकायम नगर प्रमुख इसरत परविनले घरबाटै हिंसा अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । हिंसाका घटनालाई रोक्न र महिलाको जीवनस्तर उठाउन महिला आत्मनिर्भर बन्न जरुरी रहेको उहाँले बताउनु भयो ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले हिंसा र अपराधमुक्त अनी भेदभावरहित समाज निर्माणमा सबैको योगदान आवश्यक रहेको बताउनु भयो । इन्सेक प्रतिनिधि मनोहर पोखरेलले न्यायसम्म पहुँच नहुने, संवेदनशील घटना पनि गाउँघरमै मिलाउने, रकम लेनदेन गरी वयान परिवर्तन गर्न लगाउने कार्यले महिला तथा बालबालिकाको सुरक्षा चुनौती थपिएको बताउनु भयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले महिला हिंसा अन्त्यका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला बार इकाईका उपाध्यक्ष फुलनारायण यादव, महिला शिक्षक मञ्जु श्रेष्ठले महिला हिंसा विरुद्ध क्रियाशिल सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर नवगठित समितिले आफ्नो क्रियाशीलता र गतिशीलता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
अधिवक्ता मनु खनालद्वारा सञ्चालित र पुनम पोखरेलले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि परविन र राजविराज ७ का वडा अध्यक्ष सुभाषचन्द्र यादवलाई बुहारी संयुक्त आवाजले प्रशंसा पत्र प्रदान गरेको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाजले बुहारीको मात्र नभई महिला, बालबालिकाका साथै समाजमा घट्ने हरेक घटनाको बिरुद्ध आवाज उठाउने, महिलाको क्षमता अभिबृद्धि गर्ने, पीडित र प्रभावितहरुलाई सहयोग समेत गर्दै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page