राजनीति

नयाँलाई राख्न अनुभवी कर्मचारीलाई अकस्मात हटाउनु पूर्वाग्रही हो – एमाले

कञ्चनरूप । कञ्चनरूप नगरपालिकामा कार्यरत ज्यालादारी कर्मचारीलाई हटाउने नगरपालिकाका प्रमुखको निर्णय फिर्ता लिन नेकपा (एमाले) कञ्चनरूप नगर कमिटिले माँग गरेको छ ।
ज्यालादारी १४ जना कर्मचारीलाई एकमुष्ट हटाउने निर्णय गरेपछि एमालेले कञ्चनरूप नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरी ज्यालादारी श्रमिकहरूको रोजीरोटी नखोस्न र श्रमिक कामदारको म्याद थप गर्न माँग गरेको हो ।
अनुभवी कर्मचारी परिचालन गरेर मात्र स्थानीय सरकारको सेवा प्रभावकारी हुनेमा जोड दिदै एमाले कञ्चनरूपले पुरानालाई हटाएर नयाँ राख्नुको औचित्य नरहेको जनाएको छ ।

एमाले नगर सचिव केवल खत्रीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सुरक्षित श्रम वातावरण र रोजगारीको सुनिश्चितता गर्नुपर्ने नगर प्रमुखले कार्यपालिकाको राय विपरित मनोमानी ढंगले एकल निर्णय गरेको जनाइएको छ ।
नगर कार्यपालिकाको वैठकमा बहुमत सदस्यले श्रमिकहरूको रोजीरोटी खोस्न नहुने, आश्रित परिवारका बालबालिकाको गाँस छिन्न नहुने भनेपछि प्रस्ताव असफल भएको वडा अध्यक्ष बच्चुलाल चौधरीले जानकारी दिनुभयो । नगरकार्यपालिकाको वैठक छलेर प्रमुख स्तरीय वैठकले भन्दै नियमविपरित अनुभवी कर्मचारीलाई कामबाट हटाइएको एमालेको आरोप छ ।
एमाले जिल्ला सदस्य पेशल जोशीले श्रम ऐन २०७४ विपरित मनोमानी ढंगले अघिल्लो दिन मात्र ज्यालादारी कर्मचारीहरूलाई काममा नआउन भनेर पत्र काटिएको बताउनु भयो ।

“लोकसेवा आयोगबाट नियुक्ति सिफारिस भै आएपश्चात स्वतः ज्यालादारी र करार कर्मचारीको अवधि समाप्त हुने नै भएकोले हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरूको कार्यक्षमताको मूल्याङ्कन नगरी एकमुष्ट रूपमा हटाउने कार्य पूर्वाग्राही हो ।” एमालेकी प्रदेश कमिटी सदस्य असरादेबी चौधरीले भन्नुभयो “कार्यालय सञ्चालनका लागि कर्मचारीको आवश्यक्ता छ, पुनः सोही पदमा ज्यालादारीमै नियुक्ति गर्नका लागि भइरहेको कर्मचारी हटाउनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हुदैन ।” यो अभ्यासले स्वयम् नगरपालिकाको कार्यसम्पादनमा समेत सकारात्मक प्रभावकारीता नआउने वडा नम्बर ७ का तनुकलाल शर्माले बताउनु भयो । विज्ञापन खोलेर नयाँ नियुक्ति नहुञ्जेल पुरानालाई हटाउनाले कार्यालयको काममा समेत अवरोध भएको एमालेको आरोप छ ।

स्वीकृत दरबन्दी भित्र विद्यमान कानुनबमोजिम प्रकृयासम्मत नियुक्ती भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कन नगरी एकमुष्ठ हटाउनु नियमकानुन र लोकतन्त्र विरोधी कार्य भएको वडा ३ का गुल्टेन चौधरीले बताउनु भयो । कर्मचारीको अनुभव र क्षमता अभिबृद्धिका लागि राज्यको लगानी परिसकेको तर्फ पनि नगरपालिकाले ध्यान दिनुपर्ने भन्दै सरस्वती आचार्यले अनुभवी कर्मचारीलाई म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागि समेत अवसर हुने बताउनु भयो ।
ंआइतबार काठमाडौंबाट आउनु भएका नगर प्रमुख ललनप्रसाद गुप्ताले अनावश्यक रूपमा नियुक्त गरिएका ज्यालादारी कर्मचारीलाई हटाइएको बताउनु भयो । उहाँले अब करारका कर्मचारीको पालो भन्नुहुँदै करारका कर्मचारीको लिष्ट मागेको जानकारी दिनुभयो ।
सार्वजनिक सूचना र जानकारी बिना कार्यसम्पादन मूल्याङ्कन नगरी ठाडो आदेशमा ४ जना चालक, ७ जना कार्यालय सहयोगी, २ जना सब–इन्जिनियर र एक जना सह चालक हटाइएको छ ।
चालक, सहचालक, कार्यालय सहयोगीका रूपमा कार्यरत कर्मचारीहरू अघिल्लो साँझ मात्र अकस्मात काममा नआृउनु भनेर पत्र थमाउँदा आश्र्चयमा परेको बताउँछन् । पाँच वर्षदेखि काम गर्दै आएका चालकहरूले एक दिनको समय समेत नदिई अकस्मात कामबाट छोडाउँदा घरको न घाटको अवस्थामा पुरयाएको बताउँछन् । कोभिड १९ को कष्टसाध्य बेलामा ज्यान जोखिममा राखेर गरेको गुणको बदला नयाँ जनप्रतिनिधिले गाँस पो खोसे उनीहरूले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page