राजनीति

सप्तरीमा अधिकांशले बुझाएनन् स्थानीय तह निर्वाचनको खर्च विवरण

सप्तरीमा स्थानीय तह निर्वाचनका भदौ ४ गतेसम्म अधिकांश उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउने उम्मेदवारको सङ्ख्या ९ प्रतिशतभन्दा कम रहेको तथ्यांकले देखाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार ५ हजार ५१ जना उम्मेदवारले आफूले गरेको खर्चको विवरण बुझाएका छैनन् । खर्च विवरण बुझाउनेको सङ्ख्या ४ सय ८४ जना मात्र रहेको छ ।
सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ पालिकामा १६४ वडा रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कुल ८ सय ५६ पदका लागि ५ हजार ५ सय ३५ जनाले प्रतिस्पर्धा गरेका थिए । ती उम्मेदवारमध्ये ४ सय ८४ जनाले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनु भयो । निर्वाचित ८ सय ५६ जनप्रतिनिधीमध्ये १ सय ६८ जनाले र निर्वाचित नभएकामध्ये ३ सय १६ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा पेस गर्ने भनेको छ’ जोशी भन्नु हुन्छ ‘तर आजसम्म ४ सय ८४ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।’ यसरी खर्च विवरण बुझाउनेमा ३ सय ४१ पुरुष र १ सय ४३ जना महिला उम्मेदवार छन् ।

दुई स्थानीय तहका कसैले पनि बुझाएनन्

जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्यांक अनुसार १२ वडा रहेको कञ्चनरुप नगरपालिका र ११ वडा रहेको सप्तकोशी नगरपालिकाका कुनै पनि उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताका अनुसार कञ्चनरुप नगरपालिकामा ३ सय ४३ जना र सप्तकोशी नगरपालिकामा २ सय ५५ जनाले उम्मेदवारी दिएका थिए ।
यस्तै जम्मा ५ वडा रहेको तिरहुत गाउँपालिकाका पराजित अध्यक्षका एक जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । उक्त गाउँपालिकामा १ सय ८६ जनाको उम्मेदवारी परेको थियो ।
जम्मा ११ वडा रहेको सुरुङ्गा नगरपालिकामा ३ सय २३ जनाले उम्मेदवारी दिएकोमा ३ जनाले खर्च विवरण बुझाएका छन् । जिल्लाको सबैभन्दा दक्षिण–पश्चिम रहेको बलान बिहुल गाउँपालिकामा ६ वडा रहेको छ । त्यहाँ १ सय ९३ जनाको उम्मेदवारी परेकोमा ३ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।

निर्वाचित प्रमुख, उपप्रमुखले पनि बुझाएनन्

निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार निर्वाचित प्रमुख पदका उम्मेदवारहरुमा राजविराज, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबैले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । रुपनी, बलान बिहुल, तिरहुत र अग्नीसाइर कष्णसवरन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष, खडक नगरपालिकाका उपप्रमुख, राजगढ र बिष्णुपुर गाउँपालिकाका उपाध्यक्षले पनि खर्च विवरण नबुझाएको तथ्यांकमा देखिन्छ ।
खर्च विवरण बुझाउने उम्मेदवारमा राजविराज नगरपालिकाका १ सय १ जना, बोदे बर्साइन नगरपालिकाका ७५ जना, छिन्नमस्ता गाउँपालिकाका ६१ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ५१ जना र राजगढ गाउँपालिकाका ४६ जना छन् । महादेवा गाउँपालिकाका ४२ जना, तिलाठी कोइलाडी गाउँपालिकाका ३८ जना, डाक्नेश्वरी नगरपालिकाका १९ जना, बिष्णुपुर गाउँपालिकाका १८ जना उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् ।
यस्तै खडक नगरपालिकाका ९ जना, शम्भुनाथ नगरपालिका र रुपनी गाउँपालिकाका ६र६ जना, अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका ५ जना, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिकाका ३र३ जना तथा तिरहुत गाउँपालिकाका १ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।
निर्वाचन आयोगले तोकिएको समयमा खर्च बिबरण बुुझाए नबुुझाएको यकिन गरी आबश्यक कारवाहीको लागि आयोगमा सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेपछि विवरण पठाइएको छ ।
स्थानीय तहमार्फत सबै उम्मेदवारहरुलाई निर्बाचन खर्च विवरण बुुझाउन ताकेता गरे पनि न्यून सङ्ख्यामा मात्र खर्च विवरण प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनु भयो । आयोगले खर्च विवरण नबुझाउने र ढिलो बुझाउनेलाई कारवाहीको प्रकृया अगाडि बढाउँदै साउन ३१ गते नै सात दिनभित्र सफाइसहितको स्पष्टिकरणको आदेश दिएको छ ।

कुन कुन पार्टीले बुझाए खर्च विवरण

खर्च विवरण बुझाउनेमा सबैभन्दा बढी जनमत पार्टीका उम्मेदवारको रहेको छ । यसअघि निर्वाचन बहिष्कार गर्दै आएको जनमत पार्टीले सप्तरीको १८ ओटै स्थानीय तहमा चुनाव लड्दै १२८ जना उम्मेदवारले खर्च विवरण समेत बुझाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका ८२ जना, नेपाली कांग्रेसका ८० जना, जसपाका ७९ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
यस्तै नेकपा ९माओवादी केन्द्र०का ३५ जना, नेकपा ९एकिकृत समाजवादी० केन्द्रका ३१ जना, नेकपा ९एमाले०का २७ जना, राप्रपाका १० जना, नेपाल संघीय समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीका २र२ जना तथा तमलोपा र नेपाल लोकतान्त्रिक पार्टीका १र१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । स्वतन्त्र ६ जना उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् ।

कानुनी व्यवस्था

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ९४० अनुसार निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बुझाउनु पर्ने व्यवस्था छ ।
सजिलोका लागि दल, उम्मेदवार वाहेक तिनका प्रतिनिधिले समेत आयोगले तोकेको कार्यालय अर्थात जिल्ला वा प्रदेश निर्वाचन कार्यालय समक्ष खर्च विवरण बुझाउन सक्ने व्यवस्था छ । तर सप्तरी जिल्लाका अधिकांश उम्मेदवारले तीन महिना बित्दासम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

 मनोहरकुमार पोखरेल -इन्सेक सप्तरी प्रतिनिधि 
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page