समाचार

मिटरब्याजी पिडितको समस्या बुझ्न सरकारको कार्यदल सप्तरीमा

राजविराज, १२ भदौ । सरकारद्वारा गठित मिटरब्याजको समस्या समाधानको निम्ती कार्यदलले आईतवार सप्तरीको मिटरब्याजी पीडितहरूसँग प्रत्यक्ष भेटघाट तथा समस्याबारे जानकारी लिएको छ ।
जिल्लाका १८ वटा स्थानीय तहमध्ये सप्तकोशी बाहेक १७ वटै स्थानीय तहमा मिटरव्याज पिडक विरुद्ध एक सय १२ वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यदललाई जानकारी गराउनु भयो ।
देशैभरका मिटर ब्याजी पिडितको वास्तविक समस्या र पिडालाई सञ्चार माध्यमले उजागर गरेका कारण सरकार गम्भीर भएर यसको जरासम्म गई समस्या समाधानका लागि कार्यदलले स्थानीय सरकार , बैंकिङ्ग क्षेत्र ,प्रहरी , पत्रकार सबैसँग सहकार्य गरेर तीव्रताकासाथ काम गरिराखेको कार्यदलका संयोजक डाक्टर भीष्म कुमार भुसालले बताउनुभयो ।
वास्तविक पिडितहरूलाई मिटर व्याजीको चङगुलबाट मुक्त गरेर गुमाएका घर जग्गा फिर्ता हुन सक्ने आधार प्रमाण सहित काम गर्न कार्यदलले सरकारलाई सुझाव दिने उहाँले बताउनु भयो । यति धेरै बैंक तथा वित्तीय संस्था हुँदाहँदै देशभरिबाटै यति ठूलो संख्यामा सोझा जनताहरू चर्को ब्याजमा भएपनि साहु महाजनसँगै ऋण लिने कारण बारे थप अध्ययन गरी तीनै तहको सरकारलाई त्यस प्रकारको बजेट निति कार्यन्वयनको सुझाव दिने बताउनुभयो ।
मिटरब्याजी पिडितहरुले देशैभरबाट उजुरीको लागि कार्यदलले आह्वान गरेको भदौ पाँच गतेको समयसिमा समाप्त भए पश्चात पनि सप्तरीमा पिडितहरुको उजुरी आउने क्रम जारी रहेको र उजुरीको गाम्भीर्यता हेरेर निवेदन लिने गरेको प्रजिअ गौतमले बताउनुभयो ।
संयोजक भुसालले भन्नु भयो –सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको सरकारको यो कार्यदलले कुनै समयसीमा तोकेको छैन र समाजमा चलिरहने यस्ता ठगी विरुद्धको उजुरी पिडितले सम्बन्धित निकायमा २४ सैं घण्टा दिन सकिने उहाँले बताउनु भयो ।
मिटर ब्याजी विरुद्ध सप्तरी प्रहरीले तीव्र अनुसन्धान सहित काम गर्दै आएको छ भने सप्तरीका कुख्यात मिटरब्याजी खडक नगरपालिका रामदेव साह , उहाँका छोरा छोरी माथि मुद्दा दायर भएर आदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा राखिएको सप्तरी प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
त्यस बाहेक दुई वटा उजुरीमा इलाका प्रहरी कल्याणपुरले समन्वय गरेर पिडक र पिडित दुबै पक्ष बीच ऋण चुक्ता र जग्गा फिर्ताको गर्ने लिखित सहमतीम मिलापत्र नै गराइएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख राजु अधिकारीले कार्यदललाई जानकारी गराउनु भएको छ ।
मधेश प्रदेशका आठ वटै जिल्लाहरूमा स्थलगत पूगेर निष्पक्ष र पिडितको हकमा काम गर्ने कार्यदलले उद्देश्य रहेको संयोजक भुसालले जानकारी दिनुभयो ।
मिटर ब्याजी पिडितले छलफलमा कार्यदलका संयोजकसँग आ–आफ्नो पिडा सुनाउनु भएको थियो ।
सदस्यद्वय दिनेश आचार्य , श्रीकृष्ण श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइराला लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्लाका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरु, स्थानीय तहका प्रमुखहरू तथा मिटरव्याज पिडित नागरिकहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page