समाचार

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्न प्रतिबद्ध छु : अध्यक्ष यादव

वृजमान तामाङ –
विरेन्द्र बजार, १५ भदौ । प्रदेश आम संचार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा सहयोग गर्न तत्पर रहेको बताएका छ्न । सप्तरीको कञ्चनपुरमा बुधबार स्थानीय पत्रकारहरुसंग भेटघाट गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।
पत्रकारसंग भेटघाट गर्दै अध्यक्ष यादवले पत्रकार र पत्रकारिता क्षेत्र को समग्र विकासका लागि आमसंचार प्राधिकरणले आफ्नो कार्यलाई द्रुत गतिमा अगाडि बढाएको बताए ।
मधेश प्रदेशमा पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि योजनाबद्ध ढङ्गले कार्य प्रारम्भ भएको छ, अध्यक्ष यादवले भने, १ लाख देखि १० लाखसम्म पत्रकार विमा कार्यक्रम, प्रदेशबाटै परिचयपत्र वितरण, लोककल्याणकारी विज्ञापन जस्ता पत्रकारहरुको पेशागत सुरक्षाको लागि उल्लेखनीय कार्य भएको छ । पत्रकारहरुको क्षमता अभिवृद्धका लागि तालिम तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर गर्दै आएको उल्लेख गर्दै अध्यक्ष यादवले सप्तरी क्षेत्र नम्बर १ का पत्रकारहरुलाई लक्षित गरि पत्रकारिता तालिमको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा युवा पुस्ताहरुको आकर्षण घट्दै गएको प्रति चिन्ता समेत व्यक्त गरे । विगतमा पत्रकारितामा आफूले गरेको मिहिनेत र परिश्रमको अनुभवको चर्चा गर्दै अध्यक्ष यादवले पत्रकारिता सिक्न र टिक्नमा ठूलो चुनौती रहेको बताए । उनले पेशागत सुरक्षाका लागि पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिए । हाम्रो एउटै जात पत्रकार हो भन्ने भावनाको विकास हुनु जरुरी छ,अध्यक्ष यादवले भने, राजनीति लगायतका विभिन्न आस्था राख्नु स्वाभाविक हुन्छ, पत्रकारलाई समस्या पर्दा हामी एकजुट हुनु नितान्त आवश्यक छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले कुनै पनि बाहानामा पत्रकारमाथी हुने आक्रमण र दुर्ववहार सहय नहुने बताए । उनले कसैको धाक धम्कीबाट प्रभावित नभई निर्भिकतापुर्वक समाचार लेख्न आग्रह गरे । नेपाल पत्रकार महासंघ पत्रकारहरुको सुरक्षाप्रती प्रतिबद्ध छ, अध्यक्ष देवले भने, पत्रकारहरुले लेखेको समाचारको विषयलाई लिएर भनसुन गरिदिन धेरैको दवावको सामाना गर्नुपरेको छ, उनले थपे, आफुपनी समाचार लेख्ने मान्छे भएकोले सत्यतथ्य समाचार पत्रकारले लेख्छ भन्दै जवाफ दिने गरेको छु ।
उनले पछिल्लो समय केही उछृखल समुहले पत्रकरिताको नाजायज फाईदा उठाउने गरेको चर्चा गर्दै त्यस्ता गिरोहको पत्ता लगाई कारबाहीमा सहयोग गर्न पत्रकारहरुलाइ आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका निवर्तमान सचिव भोला पासवान, प्रदेश परिषद सदस्य बृजमान तामाङ, दिनेश शर्मा, महासंघ सप्तरी शाखा सदस्य विध्यानन्द राम, राज कुमार पासवान, प्रेस चौतारी सप्तरी शाखाका कार्यबाहक अध्यक्ष डम्बर राई, प्रेस चौतारी नेपाल सप्तरी जिल्ला सदस्य उत्सव आचार्य, सल्लाहकार उत्तम आचार्य लगायतका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न सञ्चारमाध्यमा क्रियाशिल पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page