समाचार

इन्सेकको टोलीद्वारा सप्तरीको निर्वाचन पूर्वको अवस्था बारे छलफल

राजविराज, ३० कात्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार निर्वाचन पूर्वको अवस्था बारे सप्तरीका सिडिओ, एसपी, जिल्ला अनुगमन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत सरोकारवालासँग छलफल गरेको छ ।
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल, सिरहाका प्रतिनिधि दुर्गा परियार, कार्यक्रम अधिकृत बरुण बस्यालको टोलीले छलफल गरेको हो ।
सिडिओ भुपेन्द्र थापाले निर्वाचन पूर्वको सुरक्षा व्यवस्थाबारे जानकारी गराउँदै आचार संहिता उल्लङ्घन रोक्न गरिएको प्रयासबारे बताए । राजनैतिक दलहरुले प्रतिबद्धता बमोजिम आचार संहिता पालना नगरेको समेत उनले बताए ।
सिमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका लागि विहार प्रान्तको सुपौल जिल्लासँग सुनसरीमा र मधुबनी जिल्ला अधिकारीसँग जयनगरमा नेपाल भारत सिमा जिल्ला समन्वय समितिको छुट्टाछुट्टै छलफल तथा आवश्यक सहयोगको निर्णय गरिएको जानकारी दिए ।
राजनीतिक दलका उम्मेदवार, कार्यकर्ता, मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको विशेष व्यवस्था गरिएको बताउँदै प्रहरी प्रधान कार्यालयबाट थप प्रहरी जनशक्ति आउने क्रम सुरु भएको बताए ।
एसपी अविनारायण काफ्लेले सुरक्षाको दृष्टिकोणबाट मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गिकरण गरिएको र सबै मतदान स्थलको तयारी अन्तिम चरणमा पुगेको बताए । एसपी काफ्लेलेका अनुसार निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात गरेर सुरक्षा प्रबन्धको वर्गिकरण गरिएको छ ।
‘एकले अर्को दललाई आचार संहिता उल्लंघन गरेको दोषारोपण गर्दै मौखिक उजुरी दिए पनि लिखित रूपमा उजुरीहरू नआएको बताउँदै जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले निर्वाचनका लागि आवश्यक सामाग्रीहरु आइसकेको बताए ।
जिल्ला अनुगमन समितिका प्रमुख शरणहरी लुइटेलले आचार संहिता उल्लङ्घनको निगरानी, अनुगमन भइरहेको र गुनासोहरु टिपोट गरी समाधानको प्रयास भइरहेको बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page