कञ्चनरुप (सप्तरी), ३० कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीसँग जोडिएका नेपाल–भारत सिमा नाकाहरु तीन दिनसम्म बन्द हुने भएको छ ।
मंसिर १ गते राति १२ बजेदेखि २०७९ मंसिर ४ गते राति १२ बजे सम्म ७२ घण्टा सीमा नाका बन्द गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सप्तरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा तथा नाकाहरु बन्द गर्न लागिएको प्रजिअ थापाले बताउनु भयो ।
त्यसैगरी बिहिबारदेखि जिल्ला प्रशासन कार्यालय सप्तरीले सेवा कटौती गर्ने भएको छ ।
कार्यालयका अधिकांश कर्मचारीहरु निर्वाचनको तयारी र मतदान केन्द्रहरुमा खटिने हुँदा मंसिर १ गतेदेखि ५ गतेसम्म अत्यावश्यक वाहेकका सेवाहरु बन्द रहने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
यसबाट पुग्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं प्रमुख जिल्ला अधिकारी थापाद्वारा जारी सुचनामा भनिएको छ ।
Add Comment