सप्तरी, ९ मंसिर । सप्तरीको प्रदेशसभा सदस्यमा नेकपा (एस) का उम्मेदवार गोबिन्द बहादुर न्यौपाने पुनः निर्वाचित हुनु भएको छ । सप्तरी ४(१) प्रदेश सभा सदस्यमा फराकिलो मतान्तरले न्यौपाने निर्वाचित हुनु भएको हो ।
न्यौपानेले ११ हजार ४२९ मत ल्याएर विजयी हुँदा उहाँका निकट्तम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले ५ हजार ५५८ मत ल्याउनु भयो । एमालेका बालकृष्ण चौधरीले ५ हजार ८ मत मात्र ल्याउनु भयो ।
गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट १५ हजार ११३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सिताराम साहले ११ हजार ३९५ मत ल्याउनु भएको थियो ।
त्यस्तै सप्तरीको ४(ख) प्रदेशसभा सदस्यमा सप्तरीबाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव निर्वाचित हुनु भएको छ । प्रदेश सभा सदस्यमा ९ हजार ९८५ मत ल्याएर यादव निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएको छ ।
उहाँको निकट्तम प्रतिद्वन्द्वी जसपाका अभिषेक यादवले ७ हजार ९२० मत ल्याउनु भएको छ ।
अनिरुद्ध जसपाका विद्रोही उम्मेदवार हुन । अभिषेक जसपा नेतृ एवं पूर्व मन्त्री रेणु यादवका छोरा हुन् । गत निर्वाचनमा जसपाका अभिषेकले नै ९ हजार ६०५ मत ल्याएर विजयी हुनु भएको थियो ।
सप्तरीको सबै आठ प्रदेश सभा सदस्यको परिणाम आएको छ । जसमा जनमत पार्टी ४, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक÷एक स्थानमा विजयी हासिल गरेको छ ।
सप्तरीको ४ प्रतिनिधि सभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक÷एक स्थानमा निर्वाचित भएका छन् । बाँकी रहेको सप्तरी ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार ३८० मतका साथ अग्रता बढाउनु भएको छ ।
चौधरीलाई जसपाका बालकिशोर यादवले ८ हजार ४१८ मतका साथ पछ्याइ रहनु भएको छ ।
Add Comment