समाचार समाज

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : अपाङ्गता भएकालाई कम्बल वितरण

सप्तरी, १७ मङ्सिर । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज सप्तरीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि काम गर्ने विभिन्न संस्थाहरुले शनिबार जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक, अन्तक्र्रियात्मक कार्यक्रमहरु र सहयोग सामग्री वितरण गरेर मनाएका छन् ।
समावेशी अपाङ्ग संघ, बौद्धिक अपाङ्ग संघ र बौद्धिक अपाङ्गताका अभिभावक संघले अन्तरक्रिया सहित कम्बल वितरण गरेको छ । राजविराज नगरपालिकाको सहयोगमा १२ जना अपाङ्गता भएकालाई जाडो छल्न कम्बल प्रदान गरिएको समावेशी अपाङ्ग संघका अध्यक्ष सतिशचन्द्र झाले बताउनु भयो ।

‘समावेशी विकासका लागि रुपान्तरित समाधान ः पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान’ नारासहित मनाइएको अपाङ्ग दिवसमा वक्ताहरुले अपाङ्गता भएकाहरुको हकअधिकारका बारेमा बोल्नु भएको थियो ।
अन्तरक्रियामा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूप्रति स्थानीय तहको जिम्मेवारी मुख्य रहेको बताउनु भयो । परिणाममुखी कामहरू गर्नका लागि इमान्दार प्रयास र सहयोगको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले नेपालमा अपाङ्गताको अधिकारमुखी आन्दोलन अगाडि बढे पनि ऐन, कानुनको कार्यन्वयन पक्ष फितलो रहेको गुनासो गर्नुभयो । अपाङ्गमैत्री वातावरण नभएको भन्नुहुँदै उहाँले अपाङ्गताको जनजीवन सहज बनाउन र उनीहरुको फरक क्षमताको सदुपयोग गर्न सरकार र गैर सरकारी निकायहरू मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

आसमान नेपालकी रेणु सिंहले अपाङ्गता भएका व्यक्तिहरूका लागि केही सेवा–सुविधा उपलब्ध भएको जस्तो देखिए पनि गाउँ र दूरदराजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूको अवस्था असाध्यै दयनीय रहेको बताउनु भयो ।
समावेशी अपाङ्ग संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा समावेशी वौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्याल, बौद्धिक अपाङ्ग संघका अध्यक्ष सुजितकुमार झालगायतको उपस्थिती रहेको थियो ।
पत्रकार नरेशकुमार चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा अपाङ्गता भएका १२ जनालाई जाडो छल्न कम्बल वितरण गरिएको थियो ।

विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरमा मनाउने प्रचलन रही आएको छ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ । उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभरि उठाउन सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
हरेक वर्ष यो दिवस एउटा मूल अन्तर्राष्ट्रिय नाराका साथ मनाउने गरिन्छ । नेपालमा पनि सन् १९९३ देखि विभिन्न कार्यक्रम गर्दै यो दिवस हरेक वर्ष मनाउने गरिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page