धर्म संस्कृति समाचार समाज

तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार आजदेखी शुरु

बृजमान तामाङ /
बिरेन्द्र बजार, ७ माघ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार आजदेखि शुरु भएको छ । माघ शुक्ल प्रतिपदाको दिनदेखि पाँच दिनसम्म मनाईने सोनाम ल्होछार २८५९औं हे–तवर (विरालो वर्ष) आइतबारदेखि शुरु भएको हो ।
ल्होछार शुरु भएपछि तामाङ गाउँ बस्तीहरुमा मानिसहरु आउने जानेको चहल–पहल बढेको छ । ल्होछारमा टाढा रहेको आफान्तहरु घर आउने, मिठो परिकारहरु बनाएर खाने र ठूलाबडाको हातबाट टिका थापी आर्शिबाद लिने प्रचलन रहेको छ ।

ल्होछारको अघिलो दिन घर, बाटोघाटो, धारा, गुम्बा, बिहार आदि सरसफाई गरी सार्बाजानिक स्थलहरुमा ध्वजा (झण्डा) गाड्ने परम्परा रहेको नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सूर्यमान तामाङले बताए । ल्होछारको पहिलो दिन घरमुलीले बिहानै नुहाएर धारा, कुवाबाट शुद्ध पानी ल्याई कुल देवतालाई चढाउने र गुम्बा, बिहार लगायतका धार्मिक स्थलहरुमा गई प्रसाद चढाई पूजाआजा गरिने चलन रहँदै आएको उनले जानकारी दिए ।
दोश्रो दिनदेखि ५ दिनसम्म छरछिमेक ईष्टमित्रलाई घरमा बोलाएर खुवाउने एक आपसमा शुभकामना आदान—प्रदान गर्ने र विभिन्न सभा सम्मेलनको आयोजना गरी पाँच दिनसम्म ल्होछार पर्व मनाउने इतिहास रहेको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले जानकारी गराए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page