समाचार

सप्तरीको गोबरगाढामा भारतीयहरूको गोली प्रहारबाट एक नेपाली घाइते

सप्तरी, २६ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा बुधबार साँझ भारतीयहरूको गोली प्रहारबाट एक नेपाली घाइते भएका छन्।
गोबरगाढास्थित टप्पुमा भारतीय नागरिकले प्रहार गरेको गोलीबाट महेन्द्र पासवान घाइते भएको स्थानीयले जानकारी दिएका छन्। पासवानको घुँडामा छर्रा लागेको छ।
गोबरगाढाका बिन्देश्वर रामको भैँसी चोरी गरेको आरोपमा गोबरगाढावासीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएका थिए। गोबरगाढामा राखिएका ती भारतीय नागरिकलाई छुटाउन भारत बिहार छतौनीका २५–३० जनाको समूहमा आएका थिए।
वडाध्यक्ष कुशेश्वर यादवका अनुसार २५–३० जनाको समूहले फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको छ । गोलीको आवाज सुनेर बिहार रतनपुरा चौकीबाट प्रहरीहरू आएको र चार जनालाई नियन्त्रण लिएको सुनिएको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो।
भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेका भारतीयलाई उनीहरूले लगेको वडाध्यक्ष यादवले बताउनुभयो।
इलाका प्रहरी कार्यालय हनुमाननगर र विओपी टिकुलियाको सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको र भारतीयहरूले ६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page