मधेस प्रदेश समाचार समाज

सप्तरीमा ६ वर्षीय बालकको हत्या आरोपमा बाबु छोरालाई कैद सजाय

राजविराज । सप्तरीमा ६ वर्षीय बालकको हत्या आरोपमा बाबु छोरालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–१५ देउरी भरूवाका ६ वर्षीय सुमन भनिने प्रिन्स यादवको हत्या आरोपमा सोही ठाउँका ५५ वर्षीय रामचन्द्र यादव र उनका छोरा ३० वर्षीय बौवा भनिने हेमनारायण यादवलाई मंगलबार कैद सजाय भएको हो ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासबाट रामचन्द्रलाई दुई वर्ष कैद, २० हजार रूपियाँ जरिवाना र आठ सय रूपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न फैसला भएको छ । यादवका छोरा हेमनारायणलाई ९ महिना कैद, सात हजार रूपियाँ जरिवाना र २ सय ८० रूपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताए । दुबै आरोपितबाट पीडित परिवारलाई ५० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
आरोपितहरूले मकै बालीमा चारैतिरबाट घेरा हाली विद्युत प्रवाह गरी छाडेको बिजुलीको नाङ्गो तारमा छोइएर पिसाब गर्न गएका बालक प्रिन्सको ०७७ चैत १५ गते मृत्यु भएको थियो । शवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चैत १५ गते पोष्टमार्टम भएको थियो ।
बालककी आमा सोनादेवी यादवको तीन वर्ष पहिले भारतमा हत्या भएको र भारत सुपौलको न्यायालयमा कारवाही भइरहेकोमा बालक यादव राजविराज नगरपालिका–१५ देउरी भरूवास्थित मामा घरमा बस्दै आएका थिए ।
मृतकका मामाली हजुरबुबा प्रयागलाल यादवले चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित रामचन्द्रलाई ०७८ साउन ५ गते गाउँघरबाटै गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७८ साउन ३१ गते अभियोग पत्रदायर भएकोमा अदालतको भदौ १ गतेको इजलासले रामचन्द्र पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए ।
रामचन्द्रले जिल्ला अदालतको बेरितको आदेश बदरको माग गर्दै ०७८ भदौ २४ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन दिएपछि सो अदालतले ०७८ मङ्सिर १६ गते १ लाख रूपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा गर्ने आदेश गरेको थियो ।
पुनरावेदनको सो आदेश बदर गर्दै सर्वोच्च अदालतले ०७९ पुस २९ गते जिल्लाकै आदेश सदर गरी पुर्पक्षका लागि कारागारमा थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालतको आदेशपछि धरौटी राखेर रिहा भएका आरोपित रामचन्द्र सर्वोच्च अदालतको आदेश पछि फरार छन् ।
अर्का आरोपित हेमनारायण ०७९ असोज २६ गते जिल्ला अदालतमा हाजिर भएपछि सोही दिनदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । हेमनारायणले पनि जिल्ला अदालतको आदेश बेरितको भन्दै बदरको माग गरेर ०७९ कात्तिक ४ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि फागुन ११ गते उच्च अदालतले आदेश गर्दै जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page