धर्म संस्कृति समाचार

इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाएँ इदुलफित्र

कञ्चनरुप,९ वैशाख । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज हर्षोल्लासका साथ मनाइँदै छ ।
सप्तरीको विभिन्न स्थानमा रहेको मस्जिद तथा इदगाहहरुमा गएर इस्लाम धर्मावलम्बीले आज सामूहिक नमाज (प्रार्थना) गर्नुका साथै एकापसमा अँगालो मारेर बधाई तथा शुभकामना (इद मुबारक) साटासाट गरि मनाएका छन् ।
एक महिनासम्म चलेको रमजान पर्वमा उनीहरु दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता रहेको जैनुदिन मियाँ बताउनु हुन्छ ।
कुलतमा लागेका मानिस एक महिना इमान्दारी पूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउनने जैनुदिन बताउनु हुन्छ ।
अरबी पात्रो हिजरी सम्वतअनुसार दसौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठुलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने प्रचलन रहिआएको छ ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।
यस चाडले भातृत्व, शान्ति र शुभेच्छाहरुको आदान प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ र गरिब परिवारहरुले पनि सम्मानकासाथ इद मनाउन पाउन भनेर बिभिन्न प्रकारका भोजहरु आयोजना गर्ने गर्दछन् ।
बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुनेगर्दछ । किनभने उनीहरुलाई आफूभन्दा ठूलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिनेगर्दछन् जसलाई ईदको ईदि भनिन्छ । जसमा ठूलाले आफू भन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौ अथवा अधिकारनै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गीन बनाउन कतिपय ठाँउमा त बालबालिकाहरुले विभिन्न रङ्गहरु र झिलीमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज सज्जा गर्ने गर्दछन् ।

समाज र समानतासँग इस्लाम धर्मको बिशेष निकटता छ, धनी र गरिब सबैले समान रुपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून भन्ने कुरामा इस्लामीक रितीहरु विशेष तवरले बनाइएको पाइने मियाँ बताउनु हुन्छ ।
सरकार, विभिन्न संघ, संस्था अनि राजनैतिक दलहरुले औपचारीक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदिबहिनीहरुलाई ईद को शुभकामना दिइन्छ ।

   

You cannot copy content of this page