धर्म संस्कृति समाचार

राजविराजमा वर्षी तपस्वीहरुलाई आहार ग्रहण गराएर ब्रत अनुमोदन

राजविराज, १० वैशाख । जैनधर्ममा विशेष धार्मिक महत्व रहेको अक्षय तृतीया पर्वका दिन आइतबार सप्तरीको राजविराजमा वर्षी तपस्वीहरुलाई आहारग्रहण गराएर ब्रत अनुमोदन गरिएको छ ।
जैन श्वेतांबर तेरापंथी सभामा समणी निर्देशिका डा. निर्वाण प्रज्ञाजी एवम् समणी मध्यस्थ प्रज्ञाजीको सानिध्यता र सञ्चारकर्मी तथा अधिकारकर्मी मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्षी तप पारायणका साथै पर्वका बारेमा विशेष व्याख्यानको आयोजना भयो ।
डा. निर्वाण प्रज्ञाजीले महात्वाकांक्षा बढेमा हिंसा वृद्धि हुने भएकोले सबैलाई असल कर्मबाट जागृत रहन आग्रह गर्नुभयो । धार्मिक क्रिया, असल कर्म र तपस्याले मन शान्त, विचार पवित्र र भाव शुद्धिकरण हुने उहाँले बताउनु भयो । धार्मिक एवं स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण रहेको ब्रत संयमपूर्ण जीवनयापनमा सहयोगी हुने उहाँको दावी थियो । जैन धर्म अनुसार प्रथम तीर्थंकर भगवान ऋषभदेव आदिनाथले तपस्या गरेपछि आफ्नो पनाती श्रेयांसको हातबाट अक्षय तृतीयाकै दिन १३ महिनापछि इक्षुरस (उखुको रस) ग्रहण गरेर ब्रतको पारायण गर्नुभएको थियो ।

कात्तिक कृष्ण पक्षको अष्टमीबाट आरम्भ भई वैशाख शुक्लपक्षको अक्षय तृतीयाका दिन पारायण गरेर ब्रत सम्पन्न गरिन्छ । यसमा जैन धर्मावलम्बीले हरेक महिनाको चौदसको उपवास राख्नु पर्ने हुन्छ । जसमा तातो पानी मात्र सेवन गर्नुपर्ने हुन्छ ।
सनातन धर्म र जैन धर्ममा अक्षय तृतीयाको महत्वबारे दर्शाउँदै प्रमुख अतिथि पोखरेलले आहार दान गर्नेलाई कहिले नरित्तिने अक्षय पुण्य प्राप्त भएको शास्त्रीय सन्देशले दान गर्न उर्जा मिल्ने गरेको बताउनु भयो । भोकोलाई भोजन, तिर्खाएकोलाई पानी, संकटमा परेकालाई सहयोग गर्नु जस्तो पुण्य कार्य गर्न र दयाभाव राख्न अक्षय तृतीयाले हामीलाई प्रेरणा दिने गरेको बताउनु भयो ।

तीन वर्षदेखि वर्षीतप गरिरहनुभएकी समणी मध्यस्थ प्रज्ञाजी, नौ वर्षदेखि वर्षीतप गरिरहनु भएकी सुनसरी इनरुवाकी सबिताजी र पहिलो पटक वर्षीतप सुरु गर्नुभएकी इनरुवाकै कुसुमजीलाई डा. निर्वाण प्रज्ञाजी, तेरापंथ, सभा, महिला मण्डललगायतले उखुको रस ग्रहण गराउनुका साथै विभिन्न उपहार प्रदान गर्नुभयो ।
जैन स्वेताम्बर तेरापंथी भवन निर्माणको रजत महोत्सव समेत परेको अवसरमा सभाले प्रमुख अतिथि इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सप्तरीकी दोस्रो महिला शिक्षक मञ्जु श्रेष्ठ, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, लायन्स क्लबका प्रथम डिस्ट्रिक गर्भनर शंकर शारदा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी प्रदेश अध्यक्ष अनिता देवकोटालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

प्रमुख अतिथि, विशेष अतिथीहरुलाई सभाका अध्यक्ष सागर दुगड, विजयलता सिंघी, फुसराज दुगड, प्रदिप तातेड, कमला भन्साली, सुनिता तातेड, जगत भन्साली, रेखा बैद्यलगायतले दोसल्ला र टिका लगाएर सम्मान गर्नुभयो । तेरापंथी भवन निर्माणको रजत महोत्सवकै अवसरमा भवनको जग्गादाता मनसुखीदेबी चौडरियाकी बुहारी लक्ष्मीदेबी चौडरियालाई सम्मान गरियो ।
कार्यक्रममा महिला मण्डलकी सल्लाहकार कमला भन्साली, सुनसरी इनरुवाकी मनोज बागमार, मधु जैन, कमल मणहोतलगायतले अक्षय तृतीयाको महत्वबारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभयो । जैन धर्म, वर्षीतप र अक्षय तृतीयाको महत्वबारे जानकारी दिदै महिला, बालबालिकाले गीत, नृत्य र लघुनाटक प्रस्तुत गर्नुभएको थियो ।

तेरापंथ सभा, महिला मण्डल र युवक परिषद् राजविराजको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता तेरापंथ सभाका अध्यक्ष सागर दुगडले गर्नुभएको थियो । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सञ्चालन गर्नुभएको कार्यक्रममा धन्यवाद सभाका सचिव मनिष दुगडले गर्नुभयो ।

   

You cannot copy content of this page