मधेस प्रदेश समाचार समाज

सप्तरीमा आगो लगाएर भाउजुको हत्या गर्ने देवरलाई जन्मकैद

राजविराज । सप्तरीमा आगो लगाई भाउजुको हत्या गर्ने देवरलाई जन्मकैदको सजाय भएको छ । बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा मृतकका देवर २१ वर्षीय परमेश्वर साहलाई जन्मकैदको सजाय भएको हो।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले साहलाई जन्मकैद सजायको फैसलाका साथै मृतकको सन्तानलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मृतककी आठ वर्षीय छोरा र दुई वर्षीय छोरी छन्।
जाहेरवाला मृतकका पति रबिनकुमार साहले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी भन्दा अदालतमा विपरीत बयान दिएकोले उनलाई पाँच दिन कैद र २ हजार रुपियाँ जरिवाना भएको छ ।
आरोपित साहले २०७८ माघ २१ गते बिहान पेट्रोल छर्केर आगो लगाउँदा राजकुमारीको ज्यान गएको थियो। बोतलमा खुल्ला पेट्रोल ल्याएका परमेश्वरले खाना पकाइरहेकी भाउजुको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा ०७८ माघ २२ गते राति विराटनगरमा मृत्यु भएको थियो। मृतकका श्रीमान साहले माघ २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए।
मृतकका बुवा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले माघ २३ गते नै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। पछि श्रीमानकै उजुरी परेपछि इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २६ गते उजुरी दर्ता गरेको थियो।
घटनापछि फरार रहेका देवर पछि घरमै आएर बसेको अवस्थामा ०७९ जेठ १५ गते पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा उनी गत असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page