समाचार समाज

थारु पंडित परिवारद्वारा संचालित तीन दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

विरेन्द्र बजार , १९ बैशाख । थारु पंडित परिवार सप्तरीद्वारा सुरुङ्गा नगरपालिका ४ स्थित कदमहामा आयोजित थारु पंडितहका लागि तीन दिवसीय थारु पंडित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
थारु पंडित परिवार सप्तरीका अध्यक्ष अमरलाल चौधरीको अध्यक्षता तथा थारु भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका विच प्रशिक्षण कार्यक्रम समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासचिव चौधरीले थारु पंडित प्रशिक्षण कार्यक्रमले थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हिन्दु धर्मको प्रभावले थारु समुदायको संस्कार र संस्कृति लोपोन्मुख अबस्थामा पुगिसकेको छ, महासचिव चौधरीले भने, थारु बुद्वको सन्तान भएर पनि राज्यको विभेदकारी नितिका कारण हिन्दुधर्मले प्रभावित परिसकेको छ, प्रशिक्षण कार्यक्रमले थारु समुदायको धर्म संस्कार र संस्कृति संरक्षणमा सहयोग पुगेको छ । उनले थारु समुदायले जन्मदेखी मृत्युसम्म्म कर्म गर्दा थारु पंडितद्वारा बौद्ध संस्कारबाट गर्नुपर्नेमा जोड दिए ।
ईतिहासकार लक्ष्मण चौधरीले परापुर्वकालदेखी थारु समुदाय बौद्ध धर्मलम्वी रहेको जिकिर गरे । उनले बुद्धको सन्तान भएरपनि थारु समुदायले आफ्ना पुर्खालाई विर्सिएको टिप्पणी गरे। डा. कविरदास चौधरीले बुद्ध शिक्षाले सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताए । पंडितलाई सबैले विश्वास गर्ने हुदा प्रचारप्रसारको विश्वासिलो आधार पंडितमार्फत सहज हुने बताउदै उनले बौद्ध दर्शन प्रचारप्रसार गर्न प्रशिक्षणमा सहभागी पंडितहरुलाई आग्रह गरे ।

सहभागीहरु शिव नारायण चौधरी, लक्ष्मी चौधरी, दिलिप चौधरीले प्रशिक्षण कार्यक्रमबाट बौद्ध धर्म संस्कारको बारे धेरै कुरा सिक्ने अवसर पाएको बताए उनीहरुले थारु पंडितहरुका लागि थप प्रशिक्षण कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।
सप्तरी, सिरहा र उदयपुरका गरि ५० जना थारु पंडितहरु सहभागी प्रशिक्षण कार्यक्रमको सहजीकरण महेश कुमार चौधरी, टुक नारायण चौधरी, जय नारायण चौधरी, तेज नारायण चौधरी, कृष्ण चौधरीले गरेको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page