समाचार

प्रदेश सरकारलाई घोषणा पत्र बुझाउँदै दुईदिने मधेश बालिका सम्मेलन सम्पन्न

विरेन्द्र बजार , १९ बैशाख । संयुक्त घोषणा पत्र मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव रन्जित यादवलाई बुझाउँदै प्रथम मधेश बालिका सम्मेलन सम्पन्न भएको छ ।
बैशाख १७–१८ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुईदिने मधेश बालिका सम्मेलन सोमबार मन्त्रालयमा बालअधिकार सम्बन्धि घोषणा पत्र बुझाउदै सम्पन्न भएको हो ।
घोषणा पत्र बुझ्दै सचिब यादवले घोषणा पत्रमा रहेका बुँदाहरु मन्त्रालयका तर्फबाट सत प्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । बाल अधिकारको प्रबद्र्धन तथा संरक्षण गर्दै विशेषगरि बालिकाहरुको समग्र विकासका लागि बालविवाह अन्त्य गर्न संयुक्त प्रयास गर्ने र मधेश प्रदेशको गौरव “बेटी पढाऔँ, बेटी बचाऔँ” अभियानलाई बढावा दिने उद्देश्यका साथ मधेश बालिका सम्मेलन आयोजना गरिएको आयोजकले बताए ।

कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले बैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवस मनाउने घोषणा गरे । मुख्यमन्त्री यादवले सन् २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको प्रतिबद्धता व्यक्त गरे ।
१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जानकारी दिदै मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने उल्लेख गरे । बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उनले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा समेत गरे । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको उनले स्वीकार गरे ।
बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान संचालन गरिएको बताउदै मुख्यमन्त्री यादवले प्रदेशमा बालिकालाई सशक्त बनाउने अभियानलाई यसले बल पुर्याउने विश्वास व्यक्त गरे । प्रदेश सरकारले पूर्ण सुरक्षित मातृत्व प्रदेश, कुपोषण मुक्त प्रदेश बनाउने लक्ष्य लिएर अघि बढिरहेको उनले जानकारी दिए ।

मधेस प्रदेशका आठ वटै जिल्लाका करिब दुई सय बालिका तथा किशोरी सहभागी भएको कार्यक्रमको आयोजना मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले गरेका थिए ।
वल्र्ड भिजन, यूनिसेफ, यू.एन, एफ, पि.ए., प्लान नेपाल, केयर नेपाल, यू.एस.ए.आई.डी बागमती सेवा, समाज नेपाल, ग्रामिण विकास केन्द्र, नेपाल, दलित समाज उत्थान समिति नेपाल, आसमान लगायतका संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page