राजविराज, २४ वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा शम्भुनाथ नगरपालिका–७ कठौनास्थित वडा कार्यालयमा आज वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले वातावरण विनाशको असर साझा विषय भएकोले मानव अधिकार रक्षकहरुले नीतिगत तहमा पैरवी गर्न आवश्यक रहेको बताउनु भयो ।
अन्तर्राष्ट्रिय सन्धी सम्झौता, दिगो विकासका लक्ष्य लगायतका प्रतिबद्धतालाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्दै लैजान राज्य गम्भिर बन्नुपर्ने र सम्बन्धित सबै जना जिम्मेवार बन्नुपर्ने पासवानले बताउनु भयो ।
मावि कचन्दाहाका प्रधानाध्यापक उमेश प्रसाद भगतले वातावरणको संरक्षण, बचाउ र सुधार वर्तमान र भावी पुस्ताका लागि अनिवार्य र पहिलो शर्त भएको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले वातावरण र विकासलाई सन्तुलित ढंगले अगाढि बढाए मात्र जीवन र पृथ्वीको सुरक्षा गर्न सकिने बताउनु भयो ।
कार्यक्रम संयोजक वरुण वस्यालले स्वच्छ वातावरणमा बाँच्न पाउने मानव अधिकारलाई संरक्षण गर्नेतर्फ एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । मधेश प्रदेशस्तरीय मानव अधिकार समूहका सचिव दिनेश कुशवाहा र कोषाध्यक्ष शंकरकुमार साहले मानव जीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारिरहेको वातावरणको संरक्षण, बचाउ र सुधारतर्फ जवाफदेही बन्नुपर्ने बताउनु भयो ।
शिक्षकहरु मावि कचन्हादाका महाविरलाल कर्ण र अशोकुमार साह, मावि रामपुर जमुवाका महेश्वरप्रसाद चौधरी र देवकान्त मण्डललगायतकाले प्लाष्टिक प्रयोग निषेध गर्नुपर्ने, फोहोर गर्नेलाई सजाय दिनुपर्ने, सुधारिएको चुलोको प्रयोग हुनुपर्ने, वृक्षारोपण र वातावरण संरक्षणसम्बन्धी चेतनमूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
कार्यशालामा कायापलट क्याम्पियन कोर्डिनेटर शुभम झा, क्रियटिभ टिम प्रमुख रिसभकुमारले प्लाष्टिकले जीवनमा पारेको प्रभाव र भविष्यमा आउने संकटका बारेमा जानकारी गराउनु भयो ।
शम्भुनाथ नगर स्तरीय मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहको आयोजनामा भएको कार्यक्रममा समूहमा समेत गरी ३५ जनाको सहभागिता रहेको थियो ।
Add Comment