मधेस प्रदेश समाचार

सप्तरी नक्कली नागरिकता प्रकरण : वडा अध्यक्ष यादव एक लाख धरौटीमा रिहा

राजविराज, ४ जेठ । झुटो विवरण पेस गरी नेपाली नागरिकता दिलाएको आरोप लागेका राजविराज नगरपालिका ११ का वडा अध्यक्ष उदित नारायण यादव बिहीबार एक लाख रुपैयाँ धरौटी राखी रिहा भएका छन्। वडा अध्यक्ष यादव एक लाख रुपैयाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन्।
सरजमिन मुचुल्कामा बसेका सोही वडाका राधेश्याम यादवलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
जनप्रतिनिधि, कर्मचारी, प्रहरी, स्थानीयसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि वडा अध्यक्ष यादव र स्थानीय राधेश्याम यादव बिहीबार अदालतमा हाजिर भएका हुन्।
सप्तरी जिल्ला अदालतले भारत घर भई राजविराजमा बस्दै आएका भारतीय नागरिक सतिश यादवलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत, स्थलगत वस्तुस्थिति (सर्जमिन) गर्ने, गराउने प्रहरी, स्थानीयसहित २६ जनालाई बुधबार पक्राउ पुर्जी जारी गरेको छ।
नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका(११ का सूर्यनारायण यादव बुधबार एक एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
२०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सूर्यनारायण यादवको छोरा सतिश यादव भन्दै नेपाली नागरिकता जारी भएको थियो । झुठा विवरण पेस गरी नागरिकता लिएको आरोपमा प्रहरीले सूर्यनारायण र सतिशलाई नियन्त्रणमा लिएपछि यो प्रकरण अगाडि बढेका थिए ।
सूर्यनारायणले नाती नाता पर्ने भारतीय नागरिक सतिशलाई छोरा बनाई गत फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाएको आरोप छ।
अदालतले राजविराज नगरपालिका ११ का वडासचिव हरिनारायण यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक सर्लाही, हरिपुर नगरपालिका ७ का महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार सर्लाहीको गोडैटा नगरपालिका १२ का नारायणकुमार महतो, प्रहरी जवान महोत्तरीको बर्दीवास नगरपालिका ११ का रामईश्वर मण्डल, जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत सप्तरीको खडक नगरपालिका १० का किशोरकुमार राम, नायव सुब्बा राजविराज नगरपालिका ८ का सुशील कर्ण, खरिदार सुरुङ्गा नगरपालिका ८ का सञ्जीवकुमार साह र मोरङको विराटनगर महानगरपालिका ४ का सुरज नेपालसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
पक्राउ पुर्जी जारी हुनेमा राजबिराज नगरपालिका ११ का वडा सदस्य दशरथ यादव, सोही वडाका नारायण प्रसाद यादव, रामकिसुन यादव, बिराजी यादव, सुर्य नारायण यादव, प्रभु यादव, देबु यादव, रामदेव साह, हरि नारायण यादव, कप्लेश्वर यादव, सतिश यादव, आसो देवी यादव, देवकृष्ण यादव, शत्रुधन प्रसाद यादव, कुशेश्वर प्रसाद यादव, रामदेव यादव, राम किसुन यादव, चुल्हाई यादव र भुवनेश्वर प्रसाद यादव रहेका छन्।
जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट नक्कली नागरिकता प्रकरणमा वैशाख ३१ गते २८ जनाविरुद्ध अभियोगपत्र दायर भएको छ। जसमा २४ जना अझै फरार छन्।
सो मुद्दामा फरार सूचीमा रहेको भन्दै पक्राउ पुर्जी जारी भएकाहरुमा नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रसासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय सञ्जिवकुमार साह र सुरज नेपालसहित २६ जना रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page