सप्तरी, २१ जेठ । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आएका मनोहर पोखरेल पुरस्कृत भएका छन । आइतबार जनकपुरमा इन्सेकले उत्कृष्ठ प्रतिनिधिका रुपमा पोखरेललाई नगद पुरस्कार र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दोसल्ला ओढाएर, इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले प्रंशसा पत्र हस्तान्तरण गरेर तथा कोषाध्यक्ष गीता बरालले माला पहि¥याएर सम्मान गरे ।
यसअघि २०७४ सालमा पूर्वाञ्चलबाट र २०७५ सालमा मधेस प्रदेशबाट उत्कृष्ठ प्रतिनिधिका रुपमा पुरस्कृत भएका पोखरेल यस वर्ष पनि उत्कृष्ठ प्रतिनिधि घोषित भएको इन्सेकले जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को ३१ औं अंकको काठमाडौंमा विमोचन र सबै प्रदेशको राजधानीमा पुस्तक सार्वजनिकरण भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको थियो ।
पोखरेल काम सुरुवात गरेकै वर्ष २०७० सालमा देशभरीकै सर्वोत्कृष्ठ प्रतिनिधिको पुरस्कारबाट पुरस्कृत भएका थिए । २०७४ सालदेखि सर्वोत्कृष्ठ पुरस्स्कारको प्रावधान हटाएर इन्सेकले प्रदेश स्तरको उत्कृष्ठ पुरस्कारलाई मात्र निरन्तरता दिदै आएको छ ।
सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आएका पोखरेल चारपटक महिनाको उत्कृष्ट प्रतिनिधिबाट समेत पुरस्कृत भएका छन । २०७६ सालदेखि सुरु भएको महिनाको उत्कृष्ठ पुरस्कारमा चार पटक पुरस्कार प्राप्त गरिसकेका पोखरेल मानव अधिकारका समसामयिक विषय र आधारभूत तहका मानिसहरूको अधिकारका सवालमा कलम चलाउनुका साथै पीडितको न्याय प्राप्तिका लागि वकालत गर्दै आएका छन । पोखरेलले २०७६ असार, ०७७ असोज, ०७९ वैशाख र ०७९ पुस महिनाको उत्कृष्ठ प्रतिनिधिबाट समेत पुरस्कार प्राप्त गरेका छन ।
कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पद र शक्तिमा हुनेहरुले पछाडि पारिएकाहरुलाई शक्तिशाली बनाउन ध्यान दिनुपर्ने बताए । समानता, स्वतन्त्रता, मर्यादा मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानव अधिकारप्रति सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।
“मधेश प्रदेशको मानवअधिकार अवस्था” विषयमा बोल्नुहुँदै मण्डलले सरकारी साधन स्रोतलाई सीमित व्यक्तिले कब्जा गरेमा विद्रोह हुने बताए ।
शासन व्यवस्था फेरिएर गणतन्त्र आएपछि जनताले मानवअधिकारको आभाष गर्न पाएको बताउँदै मानव अधिकारको पूर्ण पालनाका लागि शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षामा जोड दिएमा युगान्तकारी परिवर्ततन हुनसक्ने उनले बताए । सभामुख मण्डलले अधिकारसँगै कर्तव्य निर्वाह गर्नेतर्फ समेत हामीले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिबक्ता बिरेन्द्र ठाकुरले सामाजिक सुधारको सुचकांकलाई कायम राख्न मानव अधिकारको पूर्ण पालना जरुरी रहेको बताए । उनले मानव अधिकार पालनाको अवस्थामा क्रमशः सुधार आएको र प्रदेशका कारागार, प्रहरी हिरासतहरुको अनुगमन गरेको चर्चा गर्नुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मानव अधिकारको उल्लघंन नहुने गरी स्थानीय प्रशासनले सजग भएर कामकाज गरिरहेको बताए । कार्यक्रमका अध्यक्ष इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको रक्षाका लागि काम गर्ने संस्थाहरुको साझेदारीको आवश्यक्ता रहेको बताए । नागरिक समाज, मानव अधिकार रक्षक र राज्यबीच समन्वय र सहकार्य भएमा उपलब्धी हासिल हुने अर्यालले बताए ।
कार्यक्रममा सहभागीहरुले मधेश प्रदेशमा मानव अधिकारको अवस्था, दलित, महिला, यौनिक अल्पसंस्यक र पछि पारिएका समुदायहरुले भोग्दै आएको मानव अधिकारसँग सम्बन्धित समस्याहरुबारे जानकारी गराए ।
इन्सेक मधेस प्रदेश कार्यालयका सहायक अधिकृत बरुण बस्यालले सञ्चालन गरेको कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले मधेस प्रदेशको मानव अधिकारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक विश्वराज खडका, नेपाल पत्रकार महासंघ उपाध्यक्ष अवधेश कामत, कानुन व्यवसायी, थर्ड एलायन्स, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, लगायत विभिन्न संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
Add Comment