मधेस प्रदेश समाचार समाज

सप्तरीमा आफ्नै १६ वर्षीया छोरी बलात्कारको प्रयास गरेको आरोपमा बुबालाई ३ वर्ष कैद सजाय

सप्तरी । सप्तरीमा १६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा उनकै ४५ वर्षीय बुबालाई मंगलबार अदालतले ३ वर्ष कैद सजाय गरेको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना गर्नुका साथै ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र १ हजार २ सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
अभियुक्तले २०७८ असोज १३ गते बिहान बलात्कार प्रयास गरेको भन्दै पीडितकी ३६ वर्षीया भाउजुले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७८ असोज १४ गते उजुरी दिएकी थिइन् ।
आफ्नै घर आँगनमा कुचो लगाई सरसफाई गरिरहेका बेला आरोपितले पछाडीबाट समाती जबरजस्ती घर कोठा भित्र लगेर बलात्कार प्रयास गरेको पीडितले बताइन् ।
पीडितकी आमाको मृत्यु भइसकेको छ । पीडितले रोई कराई गुहार गरेपछि बलात्कार हुनबाट जोगिएको भन्दै पीडितकी भाउजुले उजुरी दिएपछि प्रहरीले आरोपितलाई असोज १४ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज १४ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितविरुद्ध असोज १५ गते बलात्कार प्रयासको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा कात्तिक ७ गते अभियोग पत्र दायर भएकोमा कात्तिक ८ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page