मधेस प्रदेश समाचार

बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका अभियुक्त दिलिपकुमारलाई ७ वर्ष १ महिना कैद

सप्तरी । सप्तरीको एक परीक्षा केन्द्रमा १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका अभियुक्त रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंगलाई अदालतले ७ वर्ष १ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले अभियुक्तलाई ७ वर्ष कैदका साथै सामूहिक बलात्कारतर्फ थप १ महिना कैद गरेको हो ।
फैसला अनुसार अभियुक्तले पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र १ हजार ३ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने भएको छ । जिल्ला अदालतमा ०७८ कात्तिक ३० गते हाजिर भएका खंगलाई अदालतले मङ्सिर १ गते साढे १ लाख रुपियाँ धरौटी लिई पुर्पक्षका लागि रिहा गरेको थियो ।
रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारका दिलिपकुमार खंग, २० वर्षीय मुन्ना मण्डल भनिने बेदप्रकाश मण्डललगायत सात जनाले ०७६ जेठ ४ गते साँझ रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माध्यमिक विद्यालय परिसरमा सामूहिक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७६ जेठ ५ गते उजुरी दिएका थिए ।
कक्षा ११ को परीक्षा दिन अन्यत्र गाउँबाट आएकी बालिक रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसेकी थिइन् । पीडितका अनुसार परीक्षाका विषयमा परीक्षा केन्द्रमा केटा साथीसँग छलफल गरिरहेका बेला आएका आरोपितहरूले उनको साथीलाई कुटपिट गर्दै सामूहिक बलात्कार गरे ।
पीडित बालिकाका केटा साथीले सहयोगीहरू लिएर परीक्षा केन्द्र पुग्दा आरोपितहरूले स्थान परिवर्तन गरेकाले पत्ता लगाउन नसकेको बताइन् । ६ जना आरोपितहरूले बलात्कार गरेपछि पुगेका मुन्नालाई समेत उनीहरूले बलात्कार गर्न लगाएका थिए । बलात्कारका लागि प्रेरित गर्दा आरोपितहरूले ‘मुन्ना’ नाम उच्चारण गरेका थिए । सोही नाम नै घटना पत्ता लगाउन प्रहरीलाई सुराक बनेको प्रहरीले जनाएको छ ।
पीडित र पीडितका साथी बाहिरका भएकाले आरोपितहरू कसैलाई चिन्दैन्थे र नाम पनि जान्दैन्थे । पीडित होसमा आएपछि राति ११ बजे घर पुगेकी थिइन् । घटनाबारे आफन्तलाई बताएपछि भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । वयानका क्रममा पीडितले कसैलाई नचिनेको बताएकी थिइन् । उनले आरोपितहरूले पछिल्लो पटक एक जनालाई ‘मुन्ना’ भनेर सम्बोधन गरेको बताइन् । प्रहरीका अनुसार गाउँमा सो नामका युवक पत्ता लगाएर ०७६ जेठ ५ गते सोधपुछ गर्दा घटनाबारे वास्तविकता खुलेको थियो ।
उनै मुन्नाले दिएको बयानका आधारमा अन्य आरोपितहरूको नाम पहिचान हुन सकेको र उजुरी दर्ता गरी कारबाही अगाडि बढाइएको हो । समूहमा नभए पनि आरोपित ६ जनाले सामूहिक बलात्कार गरेपछि अन्तमा पुगेका मुन्नाले पनि बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । सोही आधारमा मुन्नालाई बलात्कारतर्फ मात्र ७ वर्ष कैद सजायको फैसला भएको अदालतले जनाएको छ ।
प्रहरीले आरोपितमध्ये मुन्ना भनिने बेदप्रकाश मण्डललाई ०७६ जेठ ५ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ जेठ ५ गते भएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित मुन्ना भनिने बेदप्रकाश ०७६ असार १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । न्यायाधीश ईश्वरमणि ओझाको इजलासले ०७७ पुस १२ गते आरोपित मुन्ना भनिने बेदप्रकाश मण्डललाई ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
फरार आरोपित सोही ठाउँका २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल ०७८ असार १५ गते गिरफ्तार भएकोमा जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलासले असार १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो । छोटु भनिने देवनारायणले उच्चमा ०७८ असार २१ गते वेरितको आदेश बदर गर्न माँग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन दिएकोमा ०७८ कात्तिक ११ गते साधारण तारेखमा रिहा भएका थिए । उनले जिल्ला अदालतबाट ०८० जेठ २४ गते सफाई पाएका छन् ।
अन्य आरोपितहरू रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका २८ वर्षीय आनन्द सरदार, सोही उमेरका ओमप्रकाश मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र सोही उमेरका बिद्यानन्द सरदार हालसम्म गिरफ्तार भएका छैनन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page