मधेस प्रदेश समाचार

मधेश प्रदेश सरकार भ्रष्टाचारको दलदलमा फसेको छ : पूर्वमन्त्री राज कुमार लेखी

उत्सव आचार्य /
कञ्चनरुप, ९ असार ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं पूर्व कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले मधेश प्रदेश सरकार समावेसी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर २ को वडा सभालाई सम्बोधन गर्दै उहाँले सबै जाति समुदायको प्रतिनिधित्व हुने गरि सरकारमा उपस्थिति गर्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री लेखीले मधेश सरकार समाबेसी नभएको टिप्पणी गर्नुभयो । मधेश प्रदेश सरकार संविधान विपरित गठन भएको छ, पूर्व मन्त्री लेखीले भन्नुभयो, मधेश प्रदेश सरकार समाबेसी भएन, सरकारमा खस आर्य, आदिवासी जनजाति, थारु, दलितको उपस्थिति छैन । उहाँले संविधानको मुलमर्म, भावना, र परिवर्तनका लागि भएको आन्दोलनबाट प्राप्त जनादेशको आधारमा सरकारलाई समाबेसी बनाउनु पर्नेमा जोड दिनुभयो ।

सातवटै प्रदेशको तुलनामा मधेश सरकार पुर्ण रुपले समाबेसी नहेको उहाँले टिप्पणी गर्नुभयो । मधेश प्रदेश सरकारले संविधानलाई लत्याउने काम गरेको उहाँको आरोप थियो । लेखीले मधेश सरकारले कमिसनका लागि ढिलो योजना कार्यान्वयन गरेको आरोप लगाउनुभयो । मधेश सरकार नालायक छ, प्राप्त बजेट खर्च गर्न सक्दैन, उहाँले भन्नुभयो, २० प्रतिशत कमिसन लिएर मात्र बजेट विनियोजन गर्छ । त्यसैको परिणाम स्वरुप प्रत्येक वर्ष ५० प्रतिशत बजेट फ्रीज हुन्छ । आफू निर्वाचित भएदेखी विभिन्न क्षेत्रमा भएको बेतिथी अन्त्य गर्न स्थानीय सरकार र सरकारका निकायहरुसंग समवन्य र सहकार्यका लागि प्रयत्न गरेको चर्चा गर्नुहुँर्दै लेखीले जनतालाई भ्रमित गर्ने मनसायले आफूमाथी जिम्मेवार स्थानमा बसेका व्यक्तिबाट विभिन्न निरधार आरोप लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त राजनीति परिवर्तनको रक्षा गर्न संविधानको भावनाको कदर गर्नुपर्ने बताउँदै लेखीले तीनै तहका सरकारले सामाजिक परिवर्तन गर्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । लेखीले अरुभन्दा फरक किसिमले आफ्ना कामलाई पारदर्शी बनाउने उदेश्यले वडा सभा आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

आफ्नो गाउँटोलमा कस्ता काम भएको छ र कस्ता काम गर्न खोजिएको छ सुचित हुने अधिकार सबै वडाबासीलाई छ, लेखीले भन्नु भयो, जनताको सूचनाको हकलाई सम्मान गर्ने कार्य अत्यन्त सराहनीय छ, आजको वडासभा देशकै लागि मार्गदर्शक भएको छ । यस्तै गरि उदाहरणिय बन्नुस ।
मधेश प्रदेश सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउँदै लेखीले मधेश सरकार सुशासन कायम गर्न पूर्णरुपले असफल भईसकेको जिकिर गर्नुभयो । राज्यमा भएको चरम भ्रष्टाचार र बेथिति विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिँदै लेखीले मेरो संसदीय विकास कोषबाट संचालित योजना तथा कार्यक्रमको नाममा कमिसन मागे कसैलाई १ पैसा नदिन आग्रह गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यक्ता र समस्याको पहिचान गरि संसदमा कुरा उठाएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री लेखीले वन्यजन्तु र खोला नदिनालाबाट उत्पन्न हुने समस्याको निकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बजेटलाई वितरणमुखी बनाउन नहुने सुझाव दिँदै प्रदेशसभा सदस्य लेखीले बजेट बनाउदा एक आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पुर्वाधार निर्माणको कुनै एक योजनामा ६० प्रतिशत विनियोजन गर्दा उपलब्धि मुलक हुने विश्वास व्यक्त गर्नुभयो ।

लेखीले आरक्षण क्षेत्र आसपासलाई माछा पकेट क्षेत्रको रुपमा विकास गर्न आफूले पहल सुरु गरेको बताउँनु भयो । कृषि अनुदानको नाममा सरकारले आफ्ना नातागोता र कार्यकर्तालाई पोस्ने बाहेक केही राम्रो काम नगरएको बताउँदै लेखीले जनताको आयस्तर उकास्ने र रोजगारी सिर्जना हुने कार्यमा लगानी गर्न आग्रह गर्नुभयो ।
सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णा प्रसाद ढकाले आगामी योजनामा टुक्रे योजनालाई स्थान नदिने बताउनुभयो । वडा नम्बर २ का अध्यक्ष जाहिर हुसेनले गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडालाई प्राप्त ३२ लाख ८० हजारबाट विभिन्न २५ वटा योजना तथा कार्यक्रम संचालन गरेको बताउनु भयो । उहाँले वडा स्तरीय योजना बाहेका आफ्नो पहलबाट प्रदेश सरकार तथा प्रदेश संसदीय कोषबाट १ करोड भन्दाबढीको विभिन्न ७ वटा योजना संचालन गरेको बताउनु भयो ।

उहाँले नगर प्रमुखका कारण नगरपालिकाबाट प्रवाह हुने सेवाहरुमा ढिलासुस्ती हुने गरेको गुनासो गर्नुभयो । अध्यक्ष हुसेनले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि २८ लाख बजेट प्राप्त भएको जानकारी दिँदै जनताको प्रमुख समस्या र आवश्यकताको आधार मानी बजेट विनियोजन गरिएको बताउनु भयो ।
अध्यक्ष हुसेनको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व नगरप्रमुख उत्तम कुमार गौतम, वडा नम्बर १ का अध्यक्ष रोहिनी प्रसाद पोखरेल, वडा नम्बर ३ का अध्यक्ष देवकान्त गोजेवार, रिटर्नी फेडरेशनका केन्द्रिय सचिव सरिता चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष अशोक कुमर चौधरी, २ नम्बर वडाका प्रत्यासी उम्मेदवार मधुकर चौधरी, गोबर्धन क्याम्पसका संगिता काफ्ले विष्ट, स्थानीय शिव प्रसाद गुप्ता, देव नारायण चौधरी लगायतकाले मन्तव्य व्यक्त गर्नुभयो ।

वडा सदस्य नवराज अधिकारीद्वारा संचालित कार्यक्रममा स्वागत अर्का वडा सदस्य पानोदेवी राजधामीले गर्नुभयो भने आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेट निति तथा कार्यक्रम वडा सदस्य रविन्द्रनाथ चौधरीले गर्नुभयो ।
कार्यक्रममा सप्तकोशी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, २ नम्बर वडाका राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page