सप्तकोशी । सप्तरीको सप्तकोशी नगरपालिकाले कर बढाएको भन्दै अटो तथा टेम्पो ब्यवसायीहरुले नगरपालिका घेराउ गरेका छन् । आईतबार ब्यवसायीहरुले नगरपालिका कार्यालय अगाडि टेम्पो र अटो जम्मा गरेर विरोध जनाएका हुन् ।
ब्यवसायीहरुले अघिल्लो आर्थिक वर्षमा दिनको १० रुपैयाँको दरले मासिक कर वुझाउँदै आएका थिए । तर साउन लागेपछि एकै पटक दिनको ५० रुपैयाँका दरले कर उठाउन थालेपछि उनीहरुले त्यसको विरोध जनाएका छन् ।
ब्यवसायीहरुका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगे ठेकेदार परिवर्तन भएको र करको नयाँ दर कायम गरिएको छ। उदयपुर, सिरहा, सुनसरी, मोरङ लगायतका कुनै जिल्लामा यस्तो करको ब्यवस्था छैन। सप्तकोशी नगरपालिकाले भने ‘सरसफाई तथा पार्किङ’को नाममा असुली गरिरहेको उनीहरुको आरोप रहेको छ । करको दर निर्धारण पनि पूर्ण रुपमा अवैज्ञानिक रहेको उनीहरुले बताए ।
५० जना यात्रु वोक्ने क्षमता भएका सवारी र ३ जना यात्रु बोक्ने क्षमताका सवारीलाई एउटै दर कायम गरिएको छ’ ११३६ नम्वरको अटोका चालकले भने–‘यस्तो पारा भएपछि कसरी गरिखानु ?’ त्यसमा पनि कतिपय अवस्थामा दिनभरी नै यात्रु नपाएर वस्नु पर्ने अबस्थालाई समेत नगरपालिकाले ख्याल नगरेको उनले गुनासो गरे ।
नगरपालिकाले पार्किङ र सरसफाईका नाममा फत्तेपुरमा रोकिँदै नरोकिने सवारी साधनलाई समेत बाटो घेरेर कर असुल गर्न थालेपछि यातायात ब्यवसायी रुष्ट छन् । सडक प्रयोग गरेकै आधारमा यसरी कर थोपर्नु गलत भएको उनीहरुको भनाई छ। सरकारले सडक घेरेर कर उठाउन नपाईने ब्यवस्था गरेपनि सप्तकोशीमा भने त्यसको कार्यान्वयन भएको ब्यवसायीहरुले गुनासो गरेका छन् ।
यस विषयमा नियमन गर्ने निकायले नगरपालिकासँग समन्वय गरी ब्यवसायीहरुलाई गरिखाने वातावरण बनाउनु पर्ने उनीहरुले माग गरेका छन् ।
सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकालले भने करमा असन्तुष्टि देखिएपछि आफुले त्यसलाई समाधान गर्ने उपाय खोजिरहेको र छलफल भईरहेको बताए ।
Add Comment