समाचार समाज

सप्तरीको महादेवामा फलामको रड प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या

राजविराज, ८ साउन । सप्तरीमा लाठी र फलामको रड प्रहार गरी एक महिलाको उनकै श्रीमानले हत्या गरेका छन् ।
जिल्लाको महादेवा गाउँपालिका–२ अकवरपुरमा घरायसी विवादमा ३५ वर्षीय रामरुप खंगले लाठी र फलामको रड प्रहार गरी श्रीमती ३० वर्षीया पावर्तीदेबी खंगको आइतबार हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।
लागु औषध सेवनकर्ता आरोपित खंगको आक्रमणमा परी उनकी आमा गम्भिर घाइते हुनु भएको छ । घरबाट १६ हजार रुपियाँ लिएर बाहिरिन खोजेका आरोपितलाई रोक्न खोज्दा उनले परिवारका सबै सदस्यहरुलाई कुटपिट गरेर घाइते बनाएको रामचरित्र खंगले बताए ।
आरोपितको आक्रमणबाट उनकी आमा ६२ वर्षीया सन्तोलियादेबी खंगको गम्भिर अवस्थामा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । आइसियुमा उपचाररत उनको टाउको फुटेर अत्यधिक मात्रामा रगत बगेकोले रगतको निकै कमी भएको चिकित्सकले बताएका छन् ।
अस्पतालमा उनलाई मिल्ने “ओ पोजिटिभ” रगतको खोजी भएपनि नपाएको अस्पतालका आईसीयू इन्चार्ज अमन चौरसियाले बताए ।
श्रीमतीको हत्या गरेर भागेका उनलाई गाउँलेहरुले समातेर प्रहरीलाई बुझाएका छन् ।
मृतकको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टमका लागि राखिएको छ भने आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारवाही गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोद खडकाले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page