समाचार

युवक मृत्यु प्रकरण : चार बुँदे सहमतिपछि अस्पतालबाट उठ्यो शव

कञ्चनरुप, १५ श्रावण । सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर नगर अस्पतालमा उपचारको क्रममा एक युवकको मृत्यु भएको प्रकरणमा चार बुँदे सहमतिपछि अस्पतालबाट शव उठेको छ ।
सोमबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा सर्वपक्षिय बैठक बसेको थियो । सो बैठकले मृतक परिवारलाई क्षतिपूर्ति बापत तत्काल क्रियाखर्चका लागि ५१ हजार र पछि कञ्चनरुप नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय गरेर ५ लाख दिने, उपचारमा संलग्न चिकित्सक लगायतका स्वास्थ्यकर्मीलाई तत्काल निलम्बन गरि पछि छानविन प्रतिवेदनको आधारमा कार्यवाही गर्ने, विज्ञ सहितको ७ सदस्य सर्वदलिय समिति गठन गर्ने र मृतकका शव परीक्षणको लागि पठाउने र दाहसंस्कारका लागि आफन्तलाई बुझाउने निर्णय गरेको छ ।
उक्त सहमतिपछि मृतकको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ का रामदेव खंगको छोरा वर्ष १६ को ओम प्रकाश खंगको उपचारको क्रममा मृत्यु भएको थियो ।
ज्वरो आएपछि उपचारका लागि अस्पतालमा आइतबार बिहान ११ बजे तिर भर्ना भएका खंगलाई अस्पतालले साँढे ४ बजे मृत्यु भएको घोषणा गरेको थियो ।
चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तजन र स्थानीय बासीले सोमबार विहानैदेखि नारावाजी गर्दै गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आन्दोलनकारीहरु पछि हटेका थिए ।
ओम प्रकाशको हत्या भएको भन्दै दोषीमाथि कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्तिको उपलब्ध गराउन माग गर्दै स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गर्ने प्रयास गरेका थिए । सोही क्रममा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
एक हप्ता अगाडी मात्रै अस्पतालमा म्याद सकिएको औषधी वितरण गरिएको घटना पनि बाहिरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page