राजविराज, १७ श्रावण । पत्रकार मनोहर पोखरेलमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कडा कारबाही गर्न सप्तरीका राजनीति पार्टीले माग गरेका छन् । राजनीतिक दलका प्रतिनिधिहरुको बुधबार बसेको सर्वदलीय बैठकले उक्त माग गरेको हो ।
पोखरेलमाथि भएको दुर्व्यवहारको सप्तरीका राजनीतिक दलहरूले निन्दा गरेका छन् । पत्रकार पोखरेललाई दुर्व्यवहार गर्ने प्रहरी सहायक निरीक्षक असई राजेश्वर महतोलाई कडा कारबाही गर्नुपर्ने बताए ।
सो बैठकमा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, नेकपा एमाले सप्तरीका सचिब देवनाथ यादव, नेकपा एसका प्रदेश सदस्य अनार कुमारी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सचिब जयनारायण यादव, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य विनोद यादवले पत्रकारमाथि भएको दुर्व्यवहारलाई गम्भीरतापूर्वक लिइएको बताए ।
उनीहरुले पछिल्लो समय सप्तरीमा प्रहरी प्रशासनबाट पत्रकार तथा अधिकारकर्मीहरुमाथि भइरहेको आक्रमणले सर्वसाधारणमा त्रास पैदा भएको निष्कर्ष निकालेका छन् ।
समाचार संकलनका लागि श्रावण १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकार पोखरेललाई असई महतोले मुक्का प्रहार गर्दै दुव्र्यवहार गरेका थिए ।
यता पोखरेलमाथि आक्रमण गर्ने असई महतोलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको सिफारिसमा प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको छ ।
Add Comment