समाचार

सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कञ्चनरुप, १९ श्रावण । किसान संघर्ष समिति सप्तरीले सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सुत्रीय माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्व प्रसाद सिंह यादवको नेतृत्व टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरवार काठमाडौलाई ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रमा सप्तरी जिल्ला भरीका स्थानीय तहहरूमा तत्काल सुखा क्षेत्र घोषणा गरी पिडित किसानहरुलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, हाल महामारीको रुपमा फैलिइएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणको लागि प्राविधिकहरुको परिचालन गरि भ्याक्सिनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । साथै पिडित किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने समेत ज्ञापनपत्रमा भनिएको छ ।
त्यस्तै, किसानका लागि उन्नत बिउँ विजन, सिचाइँ तथा मलखाद सरल र सहज रुपमा उपल्बधताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतीयकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर किसानलाई सहज रुपमा उपलब्ध गर्नुपर्ने माग गरिएको छ ।
सप्तरीका सबै स्थानीय तहमा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनु पर्ने माग गरेका छन् ।
उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत कल्पना मानन्धरले संघर्ष समितिले उठाएको माग जायज भएकोले तत्कालै सम्बन्धित निकायमा पठाउने बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page