राजनीति

नेकपा एसका केन्द्रीय सदस्य डिल्ली उप्रेतीसहित उल्लेख्य संख्यामा नेताकार्यकर्ता एमालेमा प्रवेश

सप्तरी, २० श्रावण । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेतीसहित उल्लेख्य संख्याका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार सर्लाहीको हरिवनमा आयोजित एक कार्यक्रम बीच तीन सय भन्दा धेरै नेता कार्यकर्ता पार्टीमा आएका एमालेका पोलिट्व्युरो सदस्य सुमनराज प्याकुरेलले दावी गरे ।
पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले डिल्ली उप्रेती सहितका नेता, कार्यकर्तालाई खादा र अविर लगाएर एमालेमा भित्र्याएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै भट्टराईले पार्टी प्रवेश गर्ने सबै नेता कार्यकर्तालाई सात दिन भित्र जिम्मेवारी दिन जिल्ला अध्यक्ष राज नारायण साहलाई निर्देशन दिए ।

एमालेमा रहदा जिल्ला पार्टी संयोजक भईसकेका उप्रेती सर्लाहीमा लोकप्रिय नेता मानिन्छन । उनी पूर्व प्रदेश सभा सदस्य पनि हुन ।
उप्रेतीले एकीकृत समाजवादीको नीति र सिद्धान्त कम्युनिष्ट आन्दोलन विरोधी, कार्यकर्तालाई दिंग्भ्रमित वनाउने र गन्तव्य विहिन भएको देखिएपछि आफु सहितका साथीहरु नेकपा एमालेमा नै फर्कने निर्णयमा पुगेको बताए ।
उप्रेतीसँगै नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठन र स्थानीय नेता कार्यकर्ताहरु एमालेमा समाहित भएका छन् । प्रदेश कमिटी सदस्य खड्ग वहादुर उप्रेती, कृष्ण कुमार श्रेष्ठ, हुद्धराज उप्रेती, जिल्ला उपसचिव उत्तर कुमार मैनाली सहित उपस्थित भएर प्रवेश गरे भने कतिपय नेताहरु बाहिर भएकाले उपस्थित हुन नसकेको जनाइएको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज ज्वाला कुमारी साह, पोलिट्व्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य कल्पना कटुवाल एवं कमलादेवी महतो, प्रदेश उपाध्याक्ष रेबती पन्त, पूर्व नगर प्रमुख गणेश प्रसाई, जिल्ला उपाध्यक्ष विदुर कुमार प्याकुरेल लगायतले मन्तव्य राखेका थिए ।
एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page