कञ्चनरुप, २४ श्रावण । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा अनुमती विना फोटो, भिडियो खिच्न रोक लगाएको विरोधमा सप्तरीका पत्रकारहरु आन्दोलित भएका छन् ।
प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी आफुहरुलाई मान्य नहुने भन्दै बुधबार साँझ नेपाल पत्रकार महासंघको कार्यालयमा विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरि आन्दोलनको घोषणा गरेका हुन् ।
यसअघि महासंघले बुधबार ८ बजेसम्म प्रेस स्वतन्त्रता विरोधी सूचना फिर्ता लिन जिल्ला प्रशासन कार्यालयलाई अल्टिमेटम दिएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवका अनुसार आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि श्रावण २५ गते थप सशक्त आन्दोलनमा उत्रिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी पत्रकारसहित सर्वसाधारणलाई बिना अनुमति फोटो, भिडियो खिच्न रोक लगाएको थिए । जारी सूचनामा अनुमति विना फोटो खिची सामाजिक सञ्जाल, अनलाइन, पत्र–पत्रिकामा राखेको फोटो र भिडियो पाईएमा कारबाही गर्ने चेतावनी दिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारीगरिएको उल्लेख गरिएको थियो ।
आदेश विपरीत गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने जारी सुचना मार्फत चेतावनी दिए लगत्तै महासंघ आन्दोलित भएका छ्न ।
महासंघका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्ववासले बुधबार प्रेस विज्ञप्तिमार्फत यस्तो रोक लगाउने कार्य फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरित जिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाई ‘शाही कालिन उर्दी’को रुपमा लिएका छौं भनी महासंघको विज्ञप्तिमा उल्लेख छ ।
Add Comment