समाचार

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार, रातो बत्ती बालियाे

कञ्चनरुप, २८ श्रावण । पहाडी क्षेत्रमा आइतबार बिहानदेखि निरन्तर रुपमा परेको पानीले सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेको छ ।
आइतबार राति १०ः२० बजेको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार १४० प्रतिसेकेन्ड क्युसेक पुगेको छ ।
खतराको तह पार गरेसँगै कोशी ब्यारेजको पश्चिम र पूर्वतर्फ रातो बत्ती बालिएको छ ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार पानीको बहाव बढिरहँदा अहिले ५६ वटा ढोकामध्ये २६ वटा खुल्ला गरिएको छ । आवश्यकता अनुसार पानीको बहाव बढेमा अरू ढोका खोलिने जनाइएको छ ।
सप्तकोशी नदी चतरामा जलसतह बढ्दो रहेको र सतर्कता तह (६ मी.) नजिक पुगेको छ । तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले भोलि बिहान ८ बजे सम्मै उच्च सतर्कता अपनाउन कोशी ब्यारेज प्रशासनले आग्रह गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page