कञ्चनरुप, २८ श्रावण । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१२, रुपनगर स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ ।
आइतबार क्याम्पसमा विद्यार्थीहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्राध्यापक डा. रोहितकुमार पोखरेलले उपचार केन्द्रमा विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी गराउनु भएको हो ।
म यसै ठाउँमा जन्मेको हुँदा यस ठाउँको उन्नती प्रगति गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको समेत उहाँले बताउनु भयो । सप्तरीको रुपनगरमा रहेको उपचार केन्द्रमा २३ वर्षदेखि प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क सेवा दिँदै आउनु भएका पोखरेलले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर यस क्षेत्रको विकासका लागि आफूले पहल गर्ने समेत बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्राध्यापक डा. पोखरेलले विद्यार्थीहरुले आफ्नो कमजोरी पत्ता लगाई नडराइकन अनुशासित रुपमा नियमित रुपमा कक्षामा आई अध्ययन गरेमा अवश्य राम्रो परिणाम आउने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाकी नगर उप–प्रमुख मुना कुमारी पोखरेलले यो क्याम्पस नगरपालिकाको गहना भएको हुँदा यसको संरक्षण र विकास गर्नु आफ्नो पहिलो कर्तव्य रहेको बताउनु भयो । गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यार्थीहरुलाई आउने समस्या र क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
क्याम्पस प्रमुख प्राध्यापक दिपक गजुरेलले यस क्याम्पसमा पढ्ने विद्यार्थीलाई पाठ्यक्रम पढाएर प्रमाणपत्र लिने मात्र बनाउँदैनौ जीवनको हरेक पाइलामा काम लाग्ने, कमाई गर्न समेत मद्धत गर्ने अनेक सिप सिकाएर दक्ष नागरिक उत्पादन गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको बताउनु भयो ।
यसका लागि हामीले आधारभूत कम्प्युटर तालिम, स्वदेशी तथा विदेशी विशेषज्ञहरुद्वारा विभिन्न विषयमा प्रशिक्षण र अन्तरक्रिया, लेखन तथा सम्पादन तालिम लगायत जीवन उपयोगी शिक्षा र सिप दिन थालेको बताउनु भयो ।
आफ्ना छोरा छोरीहरुलाई यस क्याम्पसमा अध्ययन गर्न पठाउनुहोस्, यहाँ पढेका विद्यार्थीहरुलाई तपाईहरुले सोच्नु भएभन्दा राम्रो गुणस्तरीय शिक्षाका साँथै विभिन्न सिप पनि सिकाएर अब्बल नागरिक बनाउँछौ भनेर गजुरेलले अभिभावकहरुलाई अनुरोध समेत गर्नुभयो ।
प्राध्यापक डा। पोखरेलसँग विद्यार्थीहरू उत्साहित भएर विभिन्न विषयमा आफ्नो जिज्ञाशा राख्दै छलफल गरेका थिए । शीपमूलक शिक्षाका लागि क्याम्पसका अन्य विशेष कार्यक्रमहरू पनि क्रमै सँग कार्यान्वयनमा ल्याउने क्याम्पस प्रशासनले जनाएको छ ।
Add Comment