कञ्चनरुप, २८ श्रावण । चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएका छन् ।
सबै शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा आइतबार देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् ।
आज बिहान ११ बजेबाट २ बजेसम्म सप्तरीको कञ्चनरुप नगरपालिकासहित जिल्ला भरीका सबै स्थानीय पालिकामा महासंघको अगुवाइमा धर्ना दिइएको नेपाल शिक्षक महासंघ कञ्चनरुप कमिटीले जनाएको छ ।
सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
‘शिक्षक संघ,संगठनसँग पटक पटकका सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजाने खोजेपछि आन्दोलनमा उत्रिएका हौं, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले भने, ‘शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।’
शिक्षकहरुले पालिकामा बुझाएको पत्रमा शिक्षकको सेवासुविधाको लागि राज्य जिम्मेवार हुनुपर्ने, शिक्षक राजनितिमा नलागेर आफ्नो क्षमता बढाएर एक भएर अघि बढ्नुपर्ने , शिक्षक सेवा आयोगलाइ संबैधानिक बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा नीति निर्माण हुनुपर्ने ,महासंघ र सरकारबिच भएका सम्झैता कार्यान्वयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्ने लगायतको माग शिक्षकहरुको रहेको छ ।
महासंघले यसपघि जिल्ला, प्रदेश र संघमा विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।
Add Comment