राजविराज, २९ साउन । सप्तरीका पत्रकारहरुले पाँचौ दिन पनि आन्दोलनलाई निरन्तरता दिँदै सोमबार राजविराजमा विरोध जुलुस प्रदर्शन गरेका छन् ।
प्रेस स्वतन्त्रताको रक्षा र अन्नपूर्णकर्मी मनोहर पोखरेलमाथि भएको आक्रमणका विरुद्ध २ बुंदे माग राखी पत्रकारहरुले निरन्तर जुलुस प्रदर्शन गरिरहेका छन् ।
पत्रकार पोखरेलमाथि आक्रमण गर्ने दोषी प्रहरी माथि कानुनी कारवाही र जिल्ला प्रशासन कार्यालयले तस्विर, भिडिओ खिच्न निषेध गरेको सूचनालाई क्षमायाचनासहित फिर्ता गर्नुपर्ने २ सुत्रीय माँग गर्दै सप्तरीका पत्रकारहरुले निरन्तर प्रदर्शन गरिरहेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको नेतृतवमा महासंघ कार्यालयबाट व्यानरसहित निक्लिएको जुलुसले नगर परिक्रमा गर्दै “दोषी प्रहरीलाई कारवाही गर”, “क्षमायाचनासहित सूचना फिर्ता गर”, “असक्षम एसपी, सिडिओलाई कारवाही गर”, “प्रेस स्वतन्त्रता कायम गर” जस्ता नारा घन्काएका छन् ।
पत्रकारहरुको आन्दोलनमा अन्य संघसंस्थाहरुको ऐक्यबद्धता थपिँदै गएको छ । महासंघले सुरु गरेको आन्दोलनमा मैथिली साहित्य परिषद्, मिलाफ नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, मेची महाकाली बुहारी संयुक्त आवाज, महिला मानव अधिकार तथा सामुदायिक विकास केन्द्र सप्तरीले ऐक्यबद्धता जनाएको छ ।
श्रृखंलाबद्ध रुपमा पत्रकारहरुलाई आक्रमण, धम्की, जिल्ला प्रशासन कार्यालयमा प्रवेश निषेध र जिल्ला प्रशासन कार्यालयमा अनुमति बिना तस्विर, भिडिओ लिए कारवाही गर्ने चेतावनीसहितको जारी सूचनाले पत्रकारहरू असुरक्षित महसुस गर्दै त्यस विरुद्ध आन्दोलनरत छन् ।
समाचार संकलन पश्चात जिल्ला प्रहरी कार्यालयबाट फर्किन लागेका पोखरेलमाथि साउन १५ गते प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले कार्यालय परिसरमै मुक्का, बुटले कुटपिट र दुव्र्यवहार गरेका थिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन २४ गते सूचना सार्वजनिक गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको तस्विर, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राखेमा कारवाही गर्ने सूचना जारी गरेको थियो ।
उक्त सूचना प्रशासन कार्यालयले विज्ञप्तिमार्फत फिर्ता लिएपनि क्षमायाचनासहित फिर्ता नलिएको र दोषीलाई कारवाही नगरेकोले महासंघको आन्दोलनले निरन्तरता पाएको छ ।
महासंघको घोषित संघर्षका कार्यक्रम अन्तर्ग श्रावण ३० गते मंगलवारः १ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, ३१ गते बुधवार २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, ३२ गते बिहीवार ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने र भदौ १ गते शुक्रवार २४औं घण्टे रिले अनसन बस्ने संघर्षका कार्यक्रम तय गरेको छ ।
Add Comment