समाचार

राजविराज स्थित कञ्चनपुर रोडको अतिक्रमण हटाइँदै

कञ्चनरुप, २ भदौ । सप्तरीको राजविराजस्थित हुलाकी सडक अन्तर्गत कञ्चनपुर रोडको अतिक्रमण हटाएर फराकिलो पार्न राजविराज नगरपालिकाले शनिबार अवैध संरचना भत्काउन सुरु गरेको छ ।
हुलाकी सडक अन्तर्गत कञ्चनपुर रोड फराकिलो गर्न भन्दै राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
राजविराज नगरपालिका वडा नम्बर ३ र ८ मा पर्ने कञ्चनपुर रोडस्थित हुलाकी राजमार्गको दायाँ बाँया साढे सात मिटर डोजर लगाएर सडक बिस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
सडकको मध्यबिन्दुदेखि दक्षिण र उत्तरतर्फ साढे सात मिटर क्षेत्रभित्र परेको घर, टहरालगायत ओगटेको अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरिएको छ।
डोजरले राजविराजस्थित हनुमान मन्दिरदेखि पम्प नहरसम्मको सडक फराकिलो पार्न अतिक्रमित संरचना हटाउन लागेको नगरपालिकाले जनाएको छ ।

सात दिनभित्र अतिक्रमित घर, टहरा हटाउन नगरपालिकाले दिएको समय सीमा शनिबार सकिएपछि सडक विस्तारका लागि डोजरले अतिक्रमित संरचना भत्काउन लागेको कार्यवाहक प्रमुख इसरत परविनले बताइन्।
यसअघि नगरपालिकाले राजविराज हटियाभित्रको अतिक्रमित संरचना, सिरहा रोड स्थित हुलाकी सडक अतिक्रमण गरि बनाएको संरचना हटाएको थियो।
हुलाकी सडक निर्माणका लागि कञ्चनपुर सडक, रंगशाला खेल मैदान, राजविराज नगरपालिकाको वडा ६ र ७ भएर सिरहा रोडको नक्सांकन भइसकेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page