समाचार

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव निलम्बित

राजविराज, ११ भदौ । सप्तरीको विष्णुपुर गाउँपालिकाका गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका छन् ।
सोलार बत्ती जडान योजनाको भुक्तानी वापत घुस मागेको सम्बन्धमा अध्यक्ष यादवविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका हुन्।
लेखापाल र एमआइस अपरेटरलाई घुस रकम लिन पठाएको विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले नियन्त्रणमा लिएको थियो।
राजविराजस्थित गजेन्द्र चोकबाट गत साउन ३१ गते सोलार सम्बन्धी योजनामा घुसको रुपमा २ लाख रुपैयाँ नगद र ३ लाख रुपियाँ चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव पक्राउ परेका थिए ।
अख्तियारले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी दिएको छ ।
सोलार सम्बन्धी योजनामा अध्यक्ष यादवसँग वार्गेनिङ्ग पश्चात ५ लाख रुपियाँमा कुरा टुँगिएको र अध्यक्षले नगदै माँग गरेकोमा सेवाग्राहीले २ लाख रुपियाँ मात्र नगद जम्मा गर्न सकेको भनेपछि ३ लाख रुपियाँको चेक दिने सहमति भएको अख्तियारको दावी छ। उक्त रकम लिन अध्यक्ष यादवले नै कर्मचारीहरुलाई पठाएको प्रमाणका आधारमा मुद्दा चलाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनु भयो ।
यसअघि अख्तियारको कारबाहीमा सप्तरीका २ नगर प्रमुख परिसकेका छन्।
राजविराजस्थित रंगशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियारले निर्माण कम्पनी न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकको हैसियतमा राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भिमराज निलम्बित भएका थिए।
यस्तै शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साह विरुद्ध फागुन १७ गते अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले एक लाख ४० हजार रुपियाँ घुस लिएको भन्दै प्रमुख गुप्ता र सोही नगरपालिकाका इञ्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विद्यालयको सभाकक्ष निर्माणको अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीबाट घुस लिएको अवस्थामा गत माघ ३ गते इञ्जिनियर साह कार्यकक्षबाटै पक्राउ परेका थिए।
उमेश र भिमराज यादव जसपा नेपालबाट र गुप्ता नेकपा एकीकृत समाजवार्दीबाट २०७९ को निर्वाचनमा निर्वाचित भएका हुन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page