समाचार

बोदेबसाईन नगरपालिकाका मेयर सिंहसहित ८ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
२०७७ र०७८ मा बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।
मेयर यादव र वडा नम्बर ४ का तत्कालिन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालिन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भरपाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अख्तियारको कारबाहीमा सप्तरीका ३ पालिका प्रमुख परिसकेका छन्।
यसअघि विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव निलम्बनमा परेका छन् । सोलार बत्ती जडान योजनाको भुक्तानी वापत घुस मागेको सम्बन्धमा अध्यक्ष यादवविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका हुन्।
लेखापाल र एमआइस अपरेटरलाई घुस रकम लिन पठाएको विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले नियन्त्रणमा लिएको थियो।
राजविराजस्थित गजेन्द्र चोकबाट गत साउन ३१ गते सोलार सम्बन्धी योजनामा घुसको रुपमा २ लाख रुपैयाँ नगद र ३ लाख रुपियाँ चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव पक्राउ परेका थिए।
राजविराजस्थित रंगशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियारले निर्माण कम्पनी न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकको हैसियतमा राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भिमराज निलम्बित भएका थिए ।
पदभार ग्रहण गरेको दुई महिना नपुग्दै ०७९ असार २९ गते राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज माथि आयोगले मुद्दा दायर गरेको थियो । गत साउन ३२ गते विशेष अदालतले भिमराजमाथिको आरोपमा दोषी ठहर गर्दै जरिवाना गरेको छ ।
यस्तै शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साह विरुद्ध फागुन १७ गते अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले एक लाख ४० हजार रुपियाँ घुस लिएको भन्दै प्रमुख गुप्ता र सोही नगरपालिकाका इञ्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विद्यालयको सभाकक्ष निर्माणको अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीबाट घुस लिएको अवस्थामा गत माघ ३ गते इञ्जिनियर साह कार्यकक्षबाटै पक्राउ परेका थिए।
२०७९ को निर्वाचनमा आतेशकुमार, उमेश र भिमराज यादव जसपा नेपालबाट र गुप्ता नेकपा एकीकृत समाजवार्दीबाट निर्वाचित भएका हुन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page