समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै सप्तरीमा युवा संघको मसाल जुलुस प्रदर्शन

कञ्चनरुप, १६ भदौ । नेकपा एमाले सम्बद्ध युवा संघ सप्तरीले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ । शनिवार साँझ राजविराजमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।
युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै सप्तरीमा प्रदर्शन गरेको हो ।
राजबिराजस्थित शिव मन्दिरबाट मसाल बोकेर निस्केको युवा संघका नेता कार्यकर्ताहरुले विभिन्न नारासहित नगरको परिक्रमा गरेको राष्ट्रिय युवा संघ नेपाल सप्तरीका अध्यक्ष चितरन्जन यादवले जानकारी दिनुभयो ।

प्रदर्शनमा बोल्दै युवा संघका अध्यक्ष यादवले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउनु भयो ।
सुशासन कायम गर्नुपर्नेमा सरकार चुकेको भन्दै युवा संघका नेता कार्यकर्ताहरुले नाराबाजी समेत गरेका थिए ।
नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page