राजनीति

सप्तरीमा संविधान दिवसको अवसरमा दिपावली (फोटोफिचर)

कञ्चनरुप, ३ असोज । आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बुधबार साँझ सप्तरीको विभिन्न स्थानमा दिप प्रज्वल गरिएको छ । आजको संविधान दिवसको अवसरमा जिल्लाका चोक चोक तथा कार्यालयहरुमा समेत दिपावली गरिएको थियो ।
नेकपा एमाले सप्तरीले जिल्ला पार्टी कार्यालय राजबिराजमा मैनवत्ती प्रज्वलन गरी संविधान दिवस मनाएको छ ।
कार्यक्रममा एमाले सप्तरीका सचिव देवनाथ यादवले नेपालको संविधान २०७२ जनताका संविधान भएको र यसले सबैको प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधानलाई संस्थागत गर्ने कार्यमा सबै लाग्नु पर्ने बताउनुभयो ।

साँझ एमाले सप्तरीका सचिव देवनाथ यादव, विभिन्न मातृ संगठन, जिल्ला कमिटी सदस्यहरु, प्रदेश कमिटीका सदस्यसहित युवाहरुले दिप प्रज्वलन गरेका थिए । उनीहरुले नेपालको नक्सा बनाएर मैनबत्ति बालेर संविधान दिवस मनाएका थिए ।
यस्तै, नेकपा एमाले अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पनि आफ्नो कार्यालयमा दिप प्रज्वलन गरि संविधान दिवस मनाएको छ ।
नेपालको नक्साभित्र संविधान दिवस २०८० लेखिएको थियो । नक्सामाथि नेपालको झण्डा फहराइएको चित्र कोरेर मैनबत्ती बालेर दीपावली गरिएको राष्ट्रिय युवा संघ नेपालका सरोज राना मगरले बताए ।

दीपावली कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी सदस्य , पालिका कमिटी सदस्य लगायतको सहभागिता रहेको थियो।
दीपावली गर्न स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो।
वडा–वडामा दिपावली :
संविधान दिवसको अवसरमा सप्तकोशी नगरपालिका वडा नम्बर १ को गोल चोक, वडा नम्बर २ को कार्यालयमा लगायतका स्थानीय तहका केन्द्र र वडा कार्यालयमा समेत दीपावली गरिएको छ।


सप्तकोशी–२ का वडा अध्यक्ष जाहिर हुसेनले हामीले आफैद्वारा निर्माण गरिएको संविधान मार्फत आफू शासित हुने लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्दै समृद्धि प्राप्तीको उदेश्य पुरा गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।
संविधानसभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । सोही दिनलाई संविधान दिवसको रुपमा नेपालमा मनाउने गरिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page