काठमाडौं, ४ असोज । नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो ।
तत्काल विद्यालय खोल्ने वातावरण बनाउन र सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न शिक्षामन्त्री समक्ष आग्रह गरेको बर्तौलाले जानकारी दिए । उनले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति ध्यानाकर्षण गराए ।
सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्तामा आउन र समस्याको निकास खोज्नुपर्ने बर्तौलाले बताए ।
शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढंगले पहल गरेको बताए ।
Add Comment