समाचार

पुष्पा र अञ्जली एक सिङगे गैडालाई चितवनबाट कोशी टप्पु ल्याइयो

कञ्चनरुप । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जली एक सिङगे गैडालाई बुधवार कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएको छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर चितवनबाट गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी ल्याइएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका ५ स्थित पथरी क्षेत्रमा काठको खोर खोलेर गैँडालाई छाडिएको छ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिने छ।
कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि चितवनबाट गैँडा ल्याइएको हो ।
विक्रम संवत् २०७६ र २०७७ सालमा फेला परेका गैँडाका यी केटीलाई चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले पालनपोषण गरे। अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका भएका छन्। माउबिना एक्लाएक्लै भिन्दाभिन्दै समयमा फेला परेका यी पोथी गैँडा सानै बेलादेखि सँगसँगै हुर्किए । फेला पर्दा ती दुई महिनाका पनि भएका थिएनन्।
हुर्किएपछि गत वैशाख ३१ गते उनीहरूकै बासस्थान अर्थात् चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रको जङ्गलमा छोडिएको थियो।
यी गैँडाहरू सौराहामा जङ्गलमा नभई गाउँमा पस्ने र मानिससँगै घुलमिल गरेर रमाउँदै हुर्केका हुन्।
मानिसको रेखदेखमा हुर्किएका गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गिएको सम्भवतः यो पहिलोपटक भएको जानकारहरू बताउँछन्।
सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाको मुख्य बासस्थानको रुपमा रहेको छ । कोशी टप्पुबाट विगतमा १३ वटा अर्ना चितवन पु¥याइएको थियो । त्यसबेला अर्ना लगे जसरी नै चितवनबाट गैंडा ल्याउनुपर्ने माग कोशी टप्पुबाट भएको थियो ।
त्यस्तै कोशी टप्पु वन्यजन्तु आरक्षको वन्यजन्तु उद्धार केन्द्र, सप्तरीको पथरी क्षेत्रमा ४ वर्षका दुई हात्ती उत्तरी प्रसाद र मकुना गज रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page