कृषि समाचार

मूल्य तथा भुक्तानी नपाएको भन्दै सप्तरीको महुलीमा दूध पोखेर राजमार्ग अवरुद्ध, मागे कृषिमन्त्रीको राजीनामा

कञ्चनरुप, १७ फागुन । दूधको मूल्य नपाएपछि किसानले सडकमै दूध पोखेर आज सप्तरीको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर‍ेका छन् ।
समयमा नै दूधको भुक्तानी नपाएको तथा गुणस्तरीय दूध बिक्रीमा समस्या आएकोले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खडकखण्डमा चक्काजाम गरिएको हो ।
दुधको बक्यौता भुक्तानीसहितको विभिन्न ११ सुत्रीय माग राखी आन्दोलनरत किसानहरूले बिहीवार दूधको भुक्तानी र दूध बिक्रीमा सहजताका लागि दुग्ध किसानले विरोध स्वरूप एक घण्टा चक्काजाम गरेका हुन् ।
दुग्ध उत्पादक सहकारी संघ लिमिटेड सप्तरीको नेतृत्वमा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध गर्दै किसानहरुले सडकमै दूध पोखेर प्रदर्शन गरेका हुन् ।
किसान मार्न पाइदैन,कृषि मन्त्री राजिनामा दे, दुधको भुक्तानी अविलम्ब गरसहितका विभिन्न नारा उल्लेखित प्लेकार्डसहित सडक प्रदर्शनमा उत्रिएका संघका पदाधिकारी तथा किसानहरुले सरकार दूध उत्पादकको समस्या समाधानप्रति गम्भीर नभएको भदै सडकमै दुधको खोलो बगाएर आक्रोश पोखे ।

सडक विचमै त्रिपाल ओछ्यार किसानहरूले प्रदर्शन गरेपछि लामो तथा छोटो दुरिमा चल्ने सयौं सवारी साधनहरु सडकमै रोकिएका थिए भने हजारौं यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए ।
दुग्ध उत्पादक सहकारी संघ सप्तरीका अध्यक्ष दिपेन्द्र कुमार आचार्यले नेपाल सरकार दूध उत्पादक किसानहरूको समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउनुभयो । विराटनगर आयोजनाले करोडौं रुपैया किसानहरूको दुधको भुक्तानी रोकेकाले कारबाहीका लागि संघीय सरकारका कृषि मन्त्रीलाई भेटेर हारगुहार गरेको बताउँदै उहाँले किसानको माग सम्बोधनमा चासो नदिने कृषिमन्त्रीले तुरुन्तै पदबाट राजिनामा दिनुपर्ने माग गर्नुभयो । उहाँले शान्तिपुर्ण आन्दोलनबाट सुनुवाइ नभए केन्द्रिय दुग्ध सहकारी संघले आव्हान गरेको आन्दोलनमा समर्थन गर्दै थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
दुग्ध किसानको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनासहितका अन्य नीजि डेरी उद्योगीले विगत ८ महिनादेखि ८ करोडभन्दा बढीको भुक्तानी नदिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
यसअघि दुग्ध उत्पादक संघले प्रमुख जिल्ला अधिकारी किरण थापालाई मंगलबार ज्ञापन पत्र बुझाउँदै भुक्तानी दिलाइदिन सहितका ११ बुँदे माग राखेको थियो ।
दुग्ध उत्पादक सहकारी संघले पछिल्लो साउनदेखि पुस मसान्तसम्म एक अर्ब ४३ करोड ९९ लाख २३ हजारको दुग्धजन्य पदार्थ आयात भएको देखिँदा सो पूर्ण बन्द गराई स्टकमा रहेका दुग्धजन्य पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा अबिलम्ब बिक्री गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
दुग्ध किसानलाई सहुलियत कृषि कर्जामा एवं रोकिएको व्याज कृषि अनुदान कार्यक्रम उपलब्ध गराउन, प्रति लिटर दुधमा कम्तीमा रु १० सबै पालिकामा सबै किसानले पाउने गरी लागू गराउन, पशु आहारा, पशु औषधिसहित पशु पालनसँग सम्बन्धित वस्तुका मूल्य राज्यबाट अबिलम्ब नियन्त्रण गर्न ज्ञापन मार्फत् उनीहरुले माग गरेका छन् ।
केन्द्रिय सहकारी संघले आव्हान गरेका अन्य सबै आन्दोलनमा सहभागी हुने साथै फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म जारी राख्ने संघर्षको कार्यक्रम सार्वजनिक गरेका थिए ।

   

You cannot copy content of this page