कञ्चनरूप, १५ असार। असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ बलुवामा आयोजित २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ। “जलवायुमैत्री प्रविधि, किसान एकता, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा किसान, राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले किसानका खेतमै पुगेर सामूहिक रूपमा धान रोपाइँ गरेका थिए। परम्परागत शैलीमा हिलोमा उत्रिएर गरिएको रोपाइँले कृषि संस्कृति संरक्षणसँगै किसानप्रतिको सम्मानसमेत अभिव्यक्त गरेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य तथा सप्तरी इञ्चार्ज राजाराम यादवले कृषि क्षेत्र अझै पनि मल, बीउ, सिँचाइ तथा बजार व्यवस्थापनजस्ता समस्याबाट प्रभावित रहेको बताए। राज्यले किसानका समस्या समयमै समाधान गर्न नसक्दा कृषकहरू निरन्तर समस्यामा परेको उल्लेख गर्दै उनले किसानहरूलाई आफ्नो अधिकारका लागि संगठित हुन आग्रह गरे।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सप्तरी अध्यक्ष ताराकान्त चौधरीले असार १५ नेपाली कृषकहरूको मेहनत र उत्पादनसँग जोडिएको महत्वपूर्ण दिन भएको उल्लेख गरे। उनले कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न आधुनिक कृषि प्रणाली र प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए।
एमाले मधेश प्रदेश कमिटी सदस्य वसन्त मिश्रले समयमा मल, बीउ र सिँचाइको अभावले कृषि उत्पादनमा नकारात्मक असर परेको बताए। आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत हलो, जुवा र गोरुको सहायताले गरिने रोपाइँ संस्कृति हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।
पूर्व मधेश प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा गौतमले यस वर्ष पर्याप्त वर्षा नहुँदा जिल्लाका धेरै क्षेत्रमा रोपाइँ प्रभावित भएको उल्लेख गर्दै कम पानीमा पनि राम्रो उत्पादन दिने उन्नत धानका जातको खेती विस्तार गर्न किसानलाई सुझाव दिए।

एमाले सप्तरी सचिव देवनाथ यादव, कञ्चनरूप नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीलगायत वक्ताहरूले कृषि क्षेत्रको विकासका लागि किसानमैत्री नीति, सहज रूपमा मल–बीउको उपलब्धता, सिँचाइ सुविधा र कृषि उपजको बजार सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका सहभागीहरूले असार १५ को परम्पराअनुसार दही–चिउरा सेवन गर्दै किसान संस्कृतिको संरक्षण र आपसी सद्भावको सन्देश दिएका थिए। साथै जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न प्रविधिमैत्री खेती, सिँचाइ विस्तार र उन्नत बीउबिजनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
अखिल नेपाल किसान महासंघका प्रदेश कमिटी सदस्य विजयकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम ज्येष्ठ किसान सुकदेव चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।













