खेलकुद मधेस प्रदेश

सप्तरी प्रिमियर लिग : छिन्नमस्ता लायन्सद्वारा कञ्चनरुप राइनोज २२ रनले पराजित

कञ्चनरुप, १८ जेठ । सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ ।
पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कञ्चनरुप राइनोजलाई २२ रनले पराजित गरेको छ।
छिन्नमस्ताले दिएको १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको कञ्चनरूपले १९.४ ओभरमा १ सय ६५ रन मात्रै बनाएर सबै विकेट गुमायो ।
कञ्चनरूपका लागि रासिद खानले सर्वाधिक ४७ रनको योगदान गरे पनि जितका लागि पर्याप्त रहेन । उनले २९ बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए ।

त्यसैगरी दिनेश अधिकारीले २० बलमा १ चौका र ४ छक्का मद्दतले ३१ रन बनाए । अभिषेक गौतम र चित्र बहादुर बिस्टले समान २३ रन बनाए । लक्ष्य पछ्याउने क्रममा ५९ रनमा ७ विकेट गुमाएको अवस्थामा राशिद र दिनेशले ५६ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहेन।
छिन्नमस्ताको बलिंगमा विशाल पटेलले सर्वाधिक ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित पटेलले ४ ओभरमा १३ रन बनाए । मोहम्मद सोहेलले ३, सुमित नेवारले २ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रनको योगफल तयार गरेको थियो। छिन्नमस्ताका सुमित नेवारले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४३ रन बनाए।

राष्ट्रिय टोलीमा समेत रहेका भिम सार्कीले १६ बलमा ३० रनको योगदान गरे। उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै, राज वर्माले २३ बलमा २६ रन, विशाल पटेलले १० बलमा १९ रन तथा रोहन विकले १४ बलमा १८ रन जोडे।
कञ्चननरूप राइनोजको बलिङमामा उमेशकुमार चौधरी र राहुल मण्डलले समान तीन–तीन विकेट लिए । उमेशले चार ओभरमा २८ रन तथा राहुलले चार ओभरमा ३७ रन खर्चिए। रासिद खान र दिनेश अधिकारीले एक–एक विकेट लिए।
प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन् । बिहान ९ बजे सुरु हुने पहिलो खेल बलान बिहुल सुपर किंग्स र राजविराज राजदेवी ११ तथा दिउँसो १ बजे हुने दोस्रो खेलमा तिरहुत टाइगर्स र सनराइज ११ तिलाठी कोइलाडी विच प्रतिस्पर्धा हुने सप्तरी क्रीकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिनुभयो ।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कञ्चनरूप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष ४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।
राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गर्दै खेल्नेछन्।

   

You cannot copy content of this page