मधेस प्रदेश समाचार समाज

सप्तरीबाट सडक मानवको उद्धार गरी जनकपुरस्थित मानव सेवा आश्रम लगियो

राजविराज, ३१ जेठ । मानव सेवा आश्रम जनकपुरले बिहीबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित सडकबाट एक सहयोगापेक्षी सडक मानवको उद्दार गरेको छ ।
सप्तरीको विभिन्न ठाउँमा मानव सेवा आश्रमको काम र उद्देश्यबारे जानकारी दिने उद्देश्यले हिंडेको टोलीले सडकमा फेला पारेको मिन्टु नाम बताउने मानसिक रोगीलाई उद्धार गरेर जनकपुरस्थित आश्रम लगेको हो ।
‘जसका कोही हुँदैनन्, जसको केही हुँदैन, उनैको सेवामा समर्पित’ भन्ने उद्देश्यले शुरु भएको मानव सेवा आश्रम बेसहाराका लागि सहारा बन्दै गएको छ ।
आश्रमका सचिव सुमन बडतौला, मधेस प्रदेशका संयोजक बिवेक महतो, इन्सेक प्रतिनिधि मनोहर पोखरेलको टोलीले सडकमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरेको हो ।
सप्तरीबाट छिटफुट रुपमा सडक मानवको उद्धार गरेर लैजाने गरेको आश्रमले यसअघि ०७७ पुस १२ गते बेसहारा, असहाय, परिवारबाट परित्यक्त, अभिभावकविहीन १४ वर्षका बालबालिकादेखी ८० वर्षसम्मका जेष्ठ नागरिकहरु गरी ३६ जना सहयोगापेक्षी सडक मानवलाई एकैपटक उद्धार गरेर लगेको थियो ।
उनीहरुमध्ये अधिकांश अझै पनि पर्साको बिरगंज र सर्लाहीको हरिवनस्थित मानवसेवा आश्रममा छन् ।
मानसिक स्वास्थ्य बिग्रीएर र अन्य परिवारबाट परित्यक्त भएर सडकमा जीउन मर्न बाध्य असहाय र बेसहराहरुको उपचार र नयाँ जीवन प्रदान गर्न सडक मानवमुक्त अभियानमा लागेको मानव सेवा आश्रमले उद्धार गर्ने गरेको छ ।
मानव सेवा आश्रमको मुख्य आम्दानीको स्रोत मुठ्ठीदान नै रहेको मानव सेवा आश्रमका सचिव सुमन बडतौलाले बताउनु भयो । मुठ्ठीदानबाहेक जन्मदिन, विवाह बर्षगाठ, विभिन्न संघ संस्थाको वार्षिकोत्सव, व्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी र मृतकहरुको सम्झनास्वरुप विभिन्न व्यक्ति तथा संघ संस्थाले आश्रित सडक मानवलाई खाना खुवाउने, सहयोगस्वरुप औषधि, कपडा दिने गरेका छन् ।
हेटौडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले अहिले १९ जिल्लाका २४ सेवा केन्द्रबाट सेवा दिईरहेको छ । मधेस प्रदेशमा जनकपुर, हरिवन र विरगञ्जमा सेवा केन्द्र रहेको छ । हाल देशभर एक हजार ७ सय भन्दा बढी वेसहारा तथा असहायलाई सेवा दिईरहेको संस्थाले २०८२ भित्र नेपालका सडक पेटीलाई सडक आश्रित मानवरहित बनाउने उद्देश्य लिएको छ ।

   

You cannot copy content of this page